विनर सर्कल सिड्नी पछि तास्मानियामा पनि सक्रिय हुँदै, होबार्टमा दशैं धमाका!

तक्दीर अधिकारी

सिड्नी । विनर सर्कल मिडियाका युवाहरुले तास्मानियाको होबार्टमा दशैं धमाका आयोजना गरेका छन् ।

विनर सर्कलको नयाँ शाखा तास्मानियाले आफ्नो पहिलो कार्यक्रमको रुपमा ९ अक्टोबरमा दशैं धमाका आयोजना गर्न लागेको हो ।

विशेष गरी कोभिडको संक्रमण पनि नरहेको र लकडाउनको समेत अवस्था नरहेको कारण नोपलीहरुको महान पर्व दशैं तथा तिहारको उपलक्ष्यमा खुशीयाली मनाउने गरी सो कार्यक्रम आयोजना गरिएको शाखाका प्रशासकिय अधिकृत साजन परियारले बताए ।

ग्लोबल मार्क एजुकेशन एन्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा दशैं विशेष साङ्गीतिक साँझ तथा शुभकामना  आदान प्रदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।

होर्बाटमा सञ्चालन हुने उक्त कार्यक्रममा तास्मानियामा रहेका नेपालीहरुलाई एकीकृत गर्ने मुख्य लक्ष्य राखिएको र सबै मिलेर आफूहरुको महान चाँड मनाउने सोँच राखिएको उनको भनाई छ ।

उक्त कार्यक्रममा डि.जे. म्यूजिक, खाना तथा पेयपदार्थको विशेष संयोजन हुनेछ । साँझ ५ बजेबाट रातीसम्म सञ्चालन हुने सो कार्यक्रममा प्रवेश गर्न अर्ली बर्ड टिकट २० डलर राखिएको छ ।

अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई सांगीतिक करियरमा साथी बन्दै आइरहेको विनर सर्कलले त्यहि कामलाई निरन्तरता दिन तास्मानियामा यो कार्यक्रम गरिएको हो, उनले भने ।

विनर सर्कलका संस्थापक रोशन खतिवडाले सिड्नी क्षेत्रमा संस्थाले गतिविधिहरुलाई तिव्रता दिएको अवस्थामा यसको कार्यक्षेत्र विस्तार गर्ने अभियान चलाइरहेको बताए । सोही क्रममा तास्मानिया शाखाले उक्त धमाका कार्यक्रम आयोजना गरेको भन्दै सहभागि भएर आफ्नो सर्कल बढाउने काम गर्न समेत तास्मानियामा रहेका नेपालीहरुलाई आग्रह गरे ।

नेपालीहरुको महान चाडको रौनकलाई कायम राख्न, नेपाली माझ संगीत पस्कन र नेपाली व्यावसायीहरु नेपाली विद्यार्थीहरुको साथमा छन् भन्ने सन्देश दिनको निम्ती पनि यो कार्यक्रम प्रभावकारी हुने खतिवडाले सुनाए ।

पोष्ट कोभिडको समयमा यस कार्यक्रमले मानसिक स्वास्थ्यमा पनि सकारात्मक असर पार्ने अपेक्षा राखेको मुख्य प्रायोजक ग्लोबल मार्क एजुकेशन एन्ड भिसा सर्भिसेसका सञ्चालक अरुण चित्रकारले बताए ।