ब्ल्याकटाउन नेपाली कम्युनिटीको अध्यक्षमा सिताराम घिमिरे

सिड्नी । ब्ल्याक टाउन काउन्सिलमा बस्ने नेपालीहरुको साझा संस्था ब्ल्याकटाउन नेपाली कम्युनिटीको अध्यक्षमा सिताराम घिमिरे चयन भएका छन् ।

२०१६ मा स्थापित समाजसेवाको यात्रामा अघि बढेको संस्थाको तेस्रो साधारणसभाले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा सरास्वती घिमिरे र दिपेन्द्र उप्रेती, सचिवमा प्रकृति श्रेष्ठ, सहसचिबमा बिशाल पोख्रेल र कोषाध्यक्षमा निराजन बिसुराल, सदस्यहरुमा शैलेन्द्र कार्की, मदन देउराली, रुप राज मैनाली, रोशन लामिछाने, दीपा जोशी, दिपक अर्याल, अनिता श्रेष्ठ, अनिल पोख्रेल, शर्मिला शर्मा र सुनिल मानन्धर रहेका छन्।अनलाइन जुम मार्फत गरिएको उक्त साधारण सभाले सर्वसम्मत रुपमा उनलाई दोस्रो पटक अध्यक्षको जिम्मेवारी दिएको हो ।

अध्यक्षमा निर्वाचित भएपछि बोल्दै घिमिरेले संस्थाले २०१६ देखि शुरू गरेको पाठशाला कार्यक्रमलाई अझै प्रभावकारी रुपले अघि बढाउने गरी अघि बढ्ने बताए ।नेपाली विद्यालयमा नेपाली बालबालिकाहरुलाई नेपाली कला, संस्कृति वेशवूशा, भाषा, नोपली गायन, नृत्य, मार्शल आर्ट, चित्रकला लगायतका कक्षाहरु सञ्चालन हुँदै आएका छन् । सबै विधा शिक्षण गर्न राष्ट्रिय स्तरका प्रशिक्षकहरु रहेको र भाडाको भवनमा कक्षा चलाइरहेको उनले बताए । उनले उक्त कक्षा सञ्चालन गर्नको निम्ती शिक्षिका प्रकृति श्रेष्ठको निकै ठूलो भूमिका रहेको भन्दै उनको योगदानको प्रशंसा समेत गरे । श्रेष्ठकै अतुलनीय योगदानको कारण संस्थाले चालेका योजनाहरुमा सफलता मिलेको उनको विश्वास छ ।

उक्त कक्षा लिनको निम्ती १० हप्ताको १५० डलर शुल्क लिने गरिएको छ । हाल करिब ३५ जना विद्यार्थी मात्र राखिएको र ठाँउ भएको भएको कारण धेरै विद्यार्थीलाई पढाउन नसकिएको उनले बताए । त्यस्तै समय समयमा नेपाल र नेपाली कला संस्कृतिबारे जानकारी दिन विशेष कक्षा तथा प्रतियोगिताहरु गर्न लागिएको उनले बताए ।

त्यस्तै ब्ल्याकटाउनमा रहेका विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको निम्ति युथ फर एक्सिलेन्स अवार्ड शुरूवात गरिने योजना संस्थाले बनाएको छ । संस्थाका हालसम्मका कामहरुलाई अझै प्रभावकारी बनाउने र आगामी दिनमा नयाँ कार्यक्रमहरु ल्याउने गरी अघि बढ्ने योजना रहेको घिमिरेको भनाई छ ।

त्यसैगरी आगामी कार्यकालमा ब्ल्याकटाउन काउन्सिलमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई समेट्नको लागि युवा मञ्च स्थापना गर्ने, प्रत्येक महिनाको पहिलो आइतबार बेलुकी जुम मार्फत हाजिरी जवाफ प्रतियोगिता गर्ने, प्रेरणात्मक गोष्ठी र शिक्षा सम्बन्धि जानकारी मूलक कक्षाहरु सञ्चालन गरिने तयारी छ ।

यहाँ रहेका नेपाली युवा पुस्ताहरुवीच भाइचाराको सम्बन्ध स्थापना गर्ने अभियानमा पनि संस्था लाग्ने अध्यक्ष घिमिरेले बताए । परीक्षामा सबैभन्दा बढी अंक ल्याउने र न्यू साउथ वेल्स राज्य स्तरको खेलकुद प्रतियोगितामा पुग्न सफल खेलाडी तथा विद्यार्थीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित प्रत्येक वर्ष सम्मान गर्ने पनि योजना छ ।

संस्थाले कोरोनाको कारण भेटघाट गर्न नमिल्ने हुदा सामाजिक संजाल मार्फत बिभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने र त्यसमा पनि शिक्षा तथा युवा लक्षित कार्यक्रमहरुलाई प्राथमिकता दिने अभियान छ ।

कार्यक्रमहरु सञ्चालन गर्न अनलाइन जुम प्लाटर्फमको प्रयोग गरिने भएको छ । कोभिड महामारीको कारण अष्ट्रेलियाका विभिन्न शहरहरुमा लकडाउन भएको अवस्थामा भर्चुअल माध्यमबाट सबैलाई समेट्न सकिने भएको कारण यो अभियान ल्याइएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले दोस्रो कार्यकाल पनि आफूले नेतृत्व गर्न पाउँदा खुशी लागेको भन्दै संस्थामाथि आफूले हरसम्भव न्याय प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।