
भूकम्पबाट प्रभावित भएकाहरुलाई राहत सामाग्री वितरण गर्ने कुरामा नेपाली चलचित्रका कलाकार पनि पछि छैनन् । उनीहरुले प्रभावितलाई आवश्यक पर्ने विभिन्न सामाग्री वितरण गरिरहेका छन् । अखिल भारतीय तेरापन्थ युवक परिषदसँग समन्वय गर्दै नेपाली चलचित्र तथा सिरियलका कलाकारहरुले भक्तपुरको बागेश्वरीमा विभिन्न सामाग्री वितरण गरेका छन् ।
उनीरुले रमाइलो ढंगमा सफाइको कुरा गरे, सबैलाई हसाँउदै महामरी फैलन नदिन आग्रह गरे । ‘आटादेखि लोटासम्म, लाल्टिनदेखि बाल्टिनसम्म’ भन्ने नारा बोकेर उनीहरु बागेश्वरी पुगेका हुन् । १ सय २६ प्रभावितलाई उनीहरुले टेन्टमा बस्दा आवश्यक पर्ने डाडु, पन्यू, खाना पकाउने भाडाहरु, तेल, मैनवत्ती, ग्यासस्टोभ, म्याट्रेस, त्रिपाल लगायतका अत्यावश्यक सामाग्री वितरण गरेका हुन् ।
नेपाली कलाकारहरुको साथले गर्दा राहत वितरण सोचेजस्तै भएको तेरापन्थ युवक परिषद्का पदाधिकारले बताए । राहत वितरण गर्नका लागि दिपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा ‘गैडा’, केदार घिमिरे ‘माग्ने बुढा’, दिलिप रायमाझी, रमेश उप्रेती, झरना थापा, किरण केसी, सुरेन्द्र केसी, सुनिल कुमार थापा, अनुरागमानसिंह कुवँर लगायतको उपस्थिती थियो ।
‘आटादेखि लोटासम्म, लाल्टिनदेखि बाल्टिनसम्म’ अभियान आज र भोली पनि चल्ने यस अभियानका संयोजक बाबुराम दाहालले जानकारी दिएका छन् ।






