एनआरएनए यूके सदस्यमा दाहालको उम्मेद्वारी, चुनाव जित्नेगरी मतदाताको घरदैलोमा पुग्दै

शिब भण्डारी

लण्डन । बेलायतमा रहेका नेपाली समाजसेवी बालकृष्ण दाहाल गैरआवासीय नेपाली संघ, यूकेको कार्यसमिति सदस्य पदमा चुनावी तयारीलाई तिव्रता दिएका छन् ।

बेलायतवासी नेपाली तथा स्वदेशमा परेका आपदविपदमा सधै सेवा गर्ने दाहालले अब एनआरएनए मार्फत समाजसेवाको यात्रा गर्ने उद्धेश्यसहित उम्मेद्वारी दिएको बताए ।

काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका वडा नं ८ का स्थायी वासिन्दा रहेका उनी बेलायतमा आएदेखि नै समाजसेवाको यात्रामा छन् । समाजसेवाकै कारण रेडिङ क्षेत्रमा लोकप्रिय बनेका दाहालले आफ्नो पक्षमा जनसमर्थन बढ्दै गइरहेको बताए । एनआरएनएलाई संस्थागत रुपमा विकास गर्दै सबै नेपालीहरु अट्न सक्ने संस्था बनाउने अभियानमा आफू जुटेको उनको भनाई छ ।

२००९ देखि बेलायतमा रहेका दाहाल ‘पेन्नी फर नेपाल‘ का संस्थापक तथा बोर्ड सदस्य समेत हुन् । उनले नेपालमा कोभिड महामारीबाट पीडित नेपालीहरुको सहयोगार्थ विभिन्न संघ संस्थाको सहयोगमा १२ ओटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउन नेतृत्व गरे । कोभिडको पहिलो लहरमा पनि उनले व्यक्तिगत रुपमा आर्थिक समस्या परेर दैनिकी गुजारा गर्न नसक्नेहरुलाई राहत पठाएका थिए भने कागेश्वरी अस्पतालका लागि अक्सिजन सिलिण्डरको व्यवस्था गरिदिएका थिए ।

२०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि पनि उनले विभिन्न ठाउँबाट सहयोग संकलन गरी नेपालमा पठाएका थिए । गरिब, रोगी, असहायहरुको सेवामा सक्रिय उनले नेपालमा अपाङ्ग र मिर्गौला रोगीको उपचारको निम्ति वार्षिक रुपमा आर्थिक सहयोग गर्दै आएका छन्। उनले नेपालमा हालसालै आफ्नो संस्था र विभिन्न साथ–सहयोगमा चितवनको चेपाङ वस्तीमा विद्यालय भवन निर्माण गरेका छन्।

विदेशमा रहेका दोश्रो पुस्ताका नेपाली र विदेशमा नै जन्मेका बालबालिकाहरुलाई नेपालसँग जोड्न आवश्यक रहेको उनको बुझाइ छ ।

गैरआवासीय नेपाली संघलाई पारदर्शी संस्थाको रुपमा स्थापित गर्दै विदेशमा नेपाली भाषा, कला र संस्कृति प्रवर्द्धन गर्ने, दोश्रो पुस्तालाई देशप्रतिको लगाव बढाउने र एनआरएनलाई समग्र नेपालको समृद्धिमा सहभागी गराउन पहल गर्ने एजेण्डासहित आफू चुनावी अभियानमा होमिएको दाहालले बताए ।

यही जुलाई ३१ गते एनआरएनए यूकेको चुनाव हुन गइरहेको छ । उक्त चुनावमा अनलाइन मतदान गर्ने गरी निर्वाचन आयोगले तयारी अघि बढाइरहेको छ ।

दाहालले आफूलाई मत दिइ निर्वाचित गराउन यूके निवासी एनआरएनएका सबै पञ्जीकृत सदस्यहरुलाई आग्रह गरेका छन् (भिडियो सहित)