काठमाडौं– गृहमन्त्री बिमलेन्द्र निधिले एमालेले आफ्नो खोइरो खनिरहेको बताएका छन् । पछिल्लो पटक एमालेले लगाएको आरोपवारे सोधिएको प्रश्नमा गृहमन्त्री निधिले यस्तो बताएका हुन् ।
एमाले सचिव योगेश भट्टराईले विज्ञप्ती निकालेर निधिले एमाले विरुद्ध मधेशीलाई उकासेको आरोप लगाएका थिए ।
त्यसको जवाफमा निधिले भने
–एमाले पहिला देखि नै मेरो खोइरो खन्न लागेको छ । यो कुनै नयाँ कुरा भएन ।
–केपी ओलीको महेन्द्रीय राष्ट्रवादले पहाड र मधेशका खाडल बनाउने काम गरेको छ । हामी त्यो खाडल पुर्ने प्रयासमा छौँ ।
–बाहिर–बाहिर चुनाव भनेपनि एमालेले भित्र भित्र सहयोग गरेको छैन । केही कुरा पनि अगाडि बढन नदिएर एमालेले राजनीतिक प्रणाली विर्गान लागेको छ ।
एमाले सचिव भट्टराईले मंगलवार विज्ञप्ती जारी गरेर भनेका थिए,
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गृहमन्त्री विमलेन्द्र निधिले एमालेले यही फागुन २१ गतेदेखि आयोजना गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानलाई भाँड्न मधेसी दलहरुलाई उक्साएको आरोप लगाएको छ ।
एमाले सचिव योगेश भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री निधिबाटै उत्तेजक अभिव्यक्ति आउनुलाई पार्टीले गम्भीर रुपमा लिँदै ध्यानाकर्षण भएको जनाएका छन् । निधिले आइतबार सिरहामा भएको एक कार्यक्रममा एमालेविरुद्व कडा अभिव्यक्ति दिएको खबरहरु बाहिर आएका थिए ।
‘राष्ट्रिय एकता, स्वाभिमान, सद्भाव र संविधान कार्यान्वयनका लागि प्रमुख प्रतिपक्षी दलले आयोजना गर्न लागेको कार्यक्रम विथोल्नका लागि गृहमन्त्रीबाटै अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र निन्दनीय छ’, विज्ञप्तिमा भनिएको छ, ‘ सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सफल पार्न वातावरणसमेत तयार गर्ने मेची–महाकाली राष्ट्रिय अभियान भाँड्नका लागि मुलुकको शान्ति–सुरक्षाको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ ।’
पार्टीले अभियानलाई व्यवस्थित, अनुशासित र मर्यादित रुपमा सञ्चालन गर्ने गरी तयारी गरिरहेको बेला गृहमन्त्रीबाटै गैरजिम्मेवार र आपत्तिजजनक अभिव्यक्ति आएको भन्दै एमालेले कार्यक्रममा कुनै अवाञ्छित गतिविधि भएमा त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री निधी र सरकारले लिनुपर्ने स्पष्ट पारेको छ ।
पार्टीले तराई–मधेसमा समेत निरन्तर रुपमा हासिल गरिरहेको लोकप्रियता र सफलताबाट अत्तालिएर गृहमन्त्रीले यस्तो अभिव्यक्ति दिएको एमालेको दाबी छ ।






