अष्ट्रेलियामा महामारीकै वीच जनगणना गरिदैँ, नेपालीहरुलाई के फाइदा हुन्छ ?

सिड्नी । अष्ट्रेलियामा महामारीकै वीचमा जनगणनाको तयारी शुरू भएको छ । हरेक ५ बर्षमा गरिने जनगणना यसपटक आगामी अगष्ट १० गते गरिदैछ ।

जनगणनाले अष्ट्रेलियामा बसोबास गर्ने, अध्ययन गर्ने, तथा भ्रमण गर्न आएका सबै मानिसहरुको तथ्यांक संकलन गर्ने उद्धेश्यसहित जनगणना गर्न लागिएको हो । यसपालीको जनगणनाले १ करोड घरधुरी र साढे दुइ करोडभन्दा बढी मानिसको तथ्यांक संकलन गर्ने सरकारको तयारी छ ।

यस तथ्यांकमा अष्ट्रेलियाको सामाजिक, आर्थिक र सांस्कृतिक संरचनाहरुको वास्तविक चित्र बाहिर लिएर सोही अनुसारको कार्ययोजनाहरु तय गर्ने सरकारको योजना छ । त्यसैगरी यसपटकको जनगणनाबाट देशमा कोभिड १९ महामारीको कारण परेको समग्र प्रभावको वस्तुस्थिती समेत सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

कसरी गरिन्छ गणना ?

अगष्ट १० गते रातमा तथ्यांक संकलन गरिदैँछ । उक्त दिन हरेक व्यक्ति तथा परिवारले तोकिएको साइटमार्फत आफ्नो विवरण सरकारलाई बुझाउनुपर्ने हुन्छ । सोही आधारणमा गणना सम्पन्न हुने छ।

सबै घरका लागि जनगणना व्युरोले जुलाईको अन्तिम साता वा अगष्टको पहिलो हप्ता तथ्याकं फारम पठाउनेछ । अगष्ट १० तारिख मंगलबार राति उक्त फारममा घरमा उपलब्ध सबै मानिसको विवरण भर्नुपर्नेछ । यदि अगष्ट १० तारिख मंगलबार राति घरमा को को हुनेछन् भन्ने पहिले नै एकिन भएमा त्यसअघि नै फारम भरेर व्युरोमा पठाउने पनि सकिनेछ ।

उक्त तथ्यांक भर्नेबेलामा फर्ममा सोधिएका हरेक विवरणहरु ठीक तरिकाले भर्न आग्रह गरिएको छ । जसमा नागरिकता र पिआर लिएकाहरु, पर्यटन भिषामा आएका आफन्त , जुनसुकै भिषाबहाक तथा अन्तराष्ट्रिय विद्यार्थीको पनि विवरण समावेश गर्नुपर्दछ । तर, देशबाहिर भएका नागरिक र पिआरधारी तथा कुटनैतिक नियोगका कर्मचारी र उनीहरुका परिवार भने जनगणनामा समावेश हुनेछैनन् ।

जनगणनाबाट पछिल्लो समय अष्ट्रेलियामा थपिदै गएका नेपालीहरुलाई पनि फाइदाजनक भएको बताइन्छ । करिब तीन लाख मानिसहरु रहेको अष्ट्रेलियामा नेपालीहरुको वास्तविक तंथ्याकं पाउने अवसरको रुपमा पनि जनगणनालाई लिइएको छ ।

वास्तविक तथ्यांक नहुँदा सरकारबाट विभिन्न सेवा सुविधानबाट वञ्चित भएका नेपालीहरुले यो जनगणनासँगै आफ्रना अधिकारहरु खोज्न सहज हुनेछ । यहाँ रहेका नेपाली संघसंस्थाहरुले नेपालीहरुलाई ठीक ढंगले विवरणहरु भर्न आग्रह गरेका छन् । सोही विवरणको आधारमा आगामी दिनमा आफ्ना हक अधिकारका निम्ती लड्न सकिने भएको कारण पनि ५ बर्षमा आउने यस अवसरलाई सदुपयोग गर्न आग्रह गरिएको छ ।अष्ट्रेलियामा हालको जनसंख्या २५.३६ मिलियन रहेको छ ।

Photo-https://www.sbs.com.au/