तक्दीर अधिकारी
सिड्नी । विदेशमा बसोबास गर्ने थुप्रै नेपाली समुदाय माँझमा असल र परोपकारी कामका लागि चन्दा उठाउने अभियानबारे हामी सबैलाई जानकारी छदैछ । अब यो कामलाई मेरो फन्डले सरल, सुलभ र विश्वनीय बनाएको छ । अस्ट्रेलियामा बिगत लामो समयदेखि बसोबास गर्दै आएको चार उद्यमी मिलेर नेपालीहरुका लागि आफ्नै कोष संकलन प्लेटफर्म तयार गरेका हुन् ।
अहिलेसम्म यस्तो काम अमेरिकी प्लेटफर्म ‘गो फन्ड मि’ मार्फत् चलिआइरहेको छ । यो अभ्यासलाई ‘मेरो फन्ड’ ले एउटा नयाँ अनुभव र निकै कम कमिसन रेटमा उपलब्ध गराउने छ । मेरो फन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समिम अनवरले भने, ‘यति मात्र होइन ‘मेरो फन्ड’ ले नेपालमा स्टार्टअपहरुलाई प्रोत्साहन गर्नका निम्ति लगानीकर्तालाई यही प्लेटफर्ममार्फत लिएर आउने छ ।’
‘मेरो फन्ड’ का सीईओ अनवर हुन् भने संस्थापकहरुमा किरण राई, अविरल गुभाजु र धिरज बिष्ट छन् । यो प्लेटफर्म प्रयोग गरेर रोजगारी सिर्जनामा समेत सहयोग पुग्ने संस्थापकहरुको भनाइ छ । उनीहरुका अनुसार काडस कार्पको पहिलो भेन्चर ‘मेरो फन्ड’ नेपालकै एक मात्र प्लेटफर्म हो जहाँ चन्दा संकलन र स्टार्टअपको लागि फन्ड कलेक्सन गर्न सकिने छ । जो कसैले मसँग व्यवसाय गर्ने आइडिया र कन्सेप्ट छ र नेपालको कानुनसम्मत डकुमेन्टेसन राखिदियो भने त्यसबाट रकम संकलन गर्ने विधिलाई स्टार्टअप भनिन्छ ।
हरेक एकजनाले अर्को एक नेपालीलाई मद्दत गर्न सकियो भने हाम्रो समुदाय र देशले कोल्टो फेर्नेछ । यही उद्देश्यले नेपालकै पहिलो प्लेटफर्म ‘मेरो फन्ड’ मार्फत आ–आफ्नो समुदयका लागि आफूबाट नै पहल गर्न ‘मेरो फन्ड’ का संस्थाकहरुले आग्रह गरेका छन् ।






