एनआरएनए अष्ट्रेलियामा राजनीतिक गतिविधिबारे आईसीसीको ध्यानाकर्षण

सिड्नी । गैरआवासिय नेपाली संघ एनआरएनए अन्तराष्ट्रिय समन्वय समिति (आईसीसी)ले एनआरएनए अस्ट्रेलियाको आसन्न निर्वाचनमा राजनीतिक दलका प्रतिनिधिले समेत उम्मेद्वारी घोषणा गरेको भन्दै यसबारे एक हप्ताभित्र जानकारी गराउन निर्देशन दिएको छ ।

आईसीसी अध्यक्ष कुमार पन्तले अष्ट्रेलिया एनसीसी अध्यक्ष केशव कंडेललाई एक पत्र लेख्दै राजनीतिक व्यक्तिले उम्मेद्वारी दिएकोबारे सत्यतथ्य बुझेर लिखित जवाफ दिन निर्देशन दिएका हुन् ।

पत्रमा भनिएको छ, ‘आसन्न राष्ट्रिय महाधिवेशनमा संघले यसको अनुभूति दिन कुनै पनि राजनीतिक दलहरुको तर्फबाट समूह बनाई राजनीतिक दलका प्रतिनिधिहरु मार्फत समर्थन वा घोषणा गराई निर्वाचनमा भाग लिज प्रतिबन्धित गरेकोमा राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाको आगामी निर्वाचनमा राजनीतिक दलको संलग्नता र समर्थनमा समूह बनाइएको जानकारी विभिन्न सञ्चार माध्यमहरुबाट प्राप्त भएकोले यसको सत्यतथ्य बुझी अन्तराष्ट्रिय समन्वय परिषदलाई सात दिन भित्र जानकारी गराउन निर्देशन गर्दछौँ ।’

यसबारे प्रतिक्रिया दिदै अध्यक्ष केवश कंडेलले आईसीसीले भनेअनुसार प्रतिबेदन बुझाउने बताए । ‘म न कुनै दल, व्यक्ति या उम्मेद्वारको कार्यक्रममा पुगेकै छैन , तर यसबारे मलाई केही जानकारी छैन,  उनले भने, विधान भन्दा बाहिर गएर कसैले केही गरेको छ भने हामी हेर्छाै, त्यो हाम्रो दायित्व हो ।

एक हप्ता भित्र आफूले पाएको विवरण पठाउने उनले बताए । ‘पत्र किन आयो भन्ने बारे मलाई केही छैन, संघमा राजनीति हुनुहुन्न भन्ने कुरालाई मैले सकारात्मक रुपमा लिएको छु, यसले संस्थाको भविष्य राम्रो बनाउँछ ‘,उनले थपे ।

मतदाताको अन्तिम सूची सार्वजनिक

एनआरएनए एनसीसीले सदस्यहरुको अन्तिम सुची सार्वजनकि गरेको छ । तथ्यांक अनुसार १५ हजार २ सय ८९ जनाको सदस्यता स्विकृत भएको छ ।

२ सय ४५ जना विद्यार्थीले एनआरएनए अष्ट्रेलियाको एशोसियटस् सदस्यता प्राप्त गरेका छन् । तर उनीहरुले भोट हाल्न पाउँदैनन् । ३८५ जनाको पेन्डिङ छ भने , २१३ को प्रमाणिकरण हुन सकेन । त्यस्तै २५० जनाको शुल्क नतिरेको कारण रोकिएको छ भने एक जनाको अस्वीकृत भएको छ ।

निर्वाचन कार्यतालिका पनि फेरीयो

जुलाई ३१ मा तोकिएको निर्वाचन तालिका समेत हेरफेर भएको छ । नेतृत्वले तोकिएको समयसीमाभित्र निर्वाचन समितीलाई सदस्यताको फाइनल सूची बुझाउन नसकेका कारण निर्धारित कार्यक्रम एक दिन पछि सारेको प्रमुख निर्वाचन आयुक्त सुरेन्द्र सिग्देलले बताए।

उनका अनुसार १३ तारिखदेखि उमेद्वा‍री दर्ता प्रकृया अगाडि बढाउने पूर्व निर्धारित कार्यक्रम भएता सदस्यता विवरण ढिलो आएपछि तालिका प्रभावित भएको हो । नयाँ तालिका अनुसार जुलाई १४ र १५ तारिखका दिन उमेदवारी दर्ता, जुलाइ १६ मा उमेदवारी नामावली प्रकाशन, १७ मा दाबी विरोधको समय राखिएको छ ।

निर्वाचन जुलाई ३१ मा बिहान सात बजेदेखि साँझ ७ बजेसम्म हुनेछ ।

यसपटक निर्वाचनमा पेपालवाट पनि करिब तीन हजार सदस्य बनेका कारण यसमा गीफ्ट कार्ड जोडिएर आएको विषयमा ब्यापक विरोध समेत भएको थियो। समावेशी समूहले विज्ञप्ती नै सार्वजनिक गर्दै यस कार्य कायम रहे अदालत जाने समेत चेतावनी दिएको थियो । तर विवादका वीच प्रक्रिया अघि बढेरै छोड्यो ।

यसै सन्दर्भमा यस्ता सदस्यता छानबिन गर्नुपर्ने माग उठिरहँंदा निर्वाचन आयोगले भने एउटा आइपीबाट एक पटकमा चार भोट मात्र हाल्न पाइने नीति अघि सारेको छ।