५५ बर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा इंग्ल्याण्ड, लाखौँ बेलायतबासी व्यग्र प्रतिक्षामा

लण्डन । युरोकप फुटबलको फाइनल खेल केहीबेरमा शुरू हुँदै छ । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्डले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । खेल बेलायतको समयनानुसार साँझ ८ बजे तथा नेपाली समयानुसार राति पौने १ बजे सुरु हुनेछ।​

उक्त खेलको पर्खाईमा लाखौँ बेलायतबासी रहेका छन् ।

इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो। एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो।​ इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन्। दुबै टोलीका मुख्य प्रशिक्षक उपाधि जित्न तयार रहेको बताउँछन्। इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो।

इंग्ल्यान्ड युरोकपको फाइनल खेल्ने १३ औं राष्ट्र हो भने इटालीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा रहेको छ । इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ।​ इंग्ल्यान्डविरुद्ध इटालीले ११ खेल जितेको छ। इंग्ल्यान्डले भने ८ खेलमा जित निकालेको छ।

फाइनल खेल हेर्नको लागि नेपालीसहित बेलायतबासी व्यग्र प्रतिक्षामा रहेका छन् । रेष्टुरेन्ट पबहरुमा मानिसहरु खेल हेर्न र सेलिव्रेट गर्नको निम्ती करिब २ बजेदेखि भरिभराउ हुन थालेका थिए ।

नेपालीहरुले पनि पछिल्लो समयमा फुटबललाई पर्वको रुपमा सेलिव्रेट गर्ने गरेका छन् । भने आइतवार विहानैदेखि उत्साहजनक रुपमा खेलको प्रतिक्षामा रहेका छन् । आज धेरै मानिसहरुको बिदाको दिन पनि रहेको कारण बेलायतबासीहरु उत्साहित भएका हुन् । साँझको यहाँको वातावरण निकै उत्साहबर्दक रहेको छ ।

आफ्नै घरेलु मैदान वेम्बलीमा खेलिने सो फाइनल जिते इङ्गल्यान्ड युरो कपको उपाधि उचाल्ने ११ औँ राष्ट्र बन्नेछ।

त्यस्तै इङ्गल्यान्डले एक गोल मात्रै गरेर जितेमा त्यो उसको प्रतियोगितामा ११ औँ गोल पनि हुनेछ। कोरोनाभाइरस महामारीले विश्व नै आक्रान्त भएपछि सन् २०२० मा नै हुने तय भएको प्रतियोगिता ११ महिनापछि भइरहेको हो।

फाइनलमा विजय हात पारेमा त्यो इङ्गल्यान्डको लागि सन् १९६६ पछिको पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि हुनेछ। ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको कारणपनि यो गेमको ब्यग्र प्रतिक्षामा बेलायतबासी रहेका छन् ।