काठमाडौं- नेपाली तयारी पोसाकलाई अमेरिकामा भन्सार छुट दिइएको छ ।
अमेरिकी संसदको दुवै सदनले नेपाली पोसाकलाई भन्साररहित सुविधा दिने विधेयक पारित गर्दै पहिलो पटक यस्तो सुविधा दिएको हो । यसले नेपाली उत्पादन १७ प्रतिशतसम्म सस्तो हुने भएकाले बजार बढ्ने तयारी पोसाक उद्योग संघका कोषाध्यक्ष सञ्जय अग्रवालले जानकारी दिए ।
अमेरिकाको क्यालिफोर्निया राज्यकी सिनेटर डायना फेनिस्टिनले नेपाली तयारी पोसाकलाई उक्त सुविधा दिनुपर्ने विधेयक दर्ता गराएका थिइन् । उनले भूकम्पपछि नेपाली अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको र गरिबीसमेत बढ्न सक्ने भन्दै उक्त सुविधा दिनुपर्ने माग गरेकी थिइन् ।
उक्त विधेयकमा अमेरिकी सिनेट र हाउस अफ रेप्रिजेन्टेटिभमा छलफल भएर यही डिसेम्बर ९ मा पारित भएको थियो ।
यो सुविधाले अब नेपाली उत्पादन चीन, भारत, बंगलादेश जस्ता मुलुकभन्दा पनि १७ प्रतिशत सस्तो हुने भएकाले नेपाली सामानको माग बढ्ने अपेक्षा गरिएको हो । तयारी पोसाकमा अमेरिकाले औसतमा १७ प्रतिशत भन्सारलगायत महसुल लगाउँदै आएको थियो । अब भन्सार विन्दुमा कुनै पनि प्रकारको शुल्क तिर्नुपर्ने छैन ।






