नुवाकोट, २३ जेष्ठ । शक्तिशाली भूकम्पपछि ध्वस्त सार्वजनिक भौतिक संरचनाको पुनःनिर्माणमा विभिन्न राजनीतिक दल, संघ–संस्थाहरु नुवाकोट जिल्लामा सक्रिय रहेका छन् । नेपाली कांग्रेस र एमाले शनिबार एकैपल्ट नुवाकोटको जिलिङ गाउँ विकास समितिमा रहेको कल्याणीदेवी उच्च माविको पुनःनिर्माणमा पुगे । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली आफ्नो स्वयंसेवक टोलीसहित कल्याणीदेवी उच्च मावि पुगेका हुन् ।
दुबै पार्टीले एउटै विद्यालय पुनःनिर्माणका लागि छनोट गरेको र त्यसको जानकारीका लागि एक–अर्कासँग समन्वय नभएपछि दुबै पार्टीले संयुक्तरुपमा विद्यालयमा अस्थायी कक्षाकोठा निर्माणको घोषणा गरे । एमालेले इन्जिनियरहरुसहितको ७० जानको टोली र कांग्रेसले रुपन्देहीबाट ४० जनाको कामदार टोली लिएर नुवाकोट पुगेको हो ।
विद्यालयको कक्षाकोठा निर्माणको थालनीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कांग्रेसले आह्वान गरेको श्रमदानका लागि तराईबाट पहाडमा सहयोग गर्न नागरिकहरु उक्लनुको दुरगामी प्रभाव रहेको बताए ।
कांग्रेस-एमाले संयुक्तरुपमा पुनःनिर्माणमा






