बेलायतमा हजारौँ नेपालीको वृहत इभेन्ट ‘गोर्खा कप’ जुलाई २४ मा हुँदै, के के छन् मुख्य आकर्षण

लन्डन । बेलायतमा तमुधिं यूकेले वर्षेनी गर्ने देशकै सबैभन्दा ठूलो नेपाली इभेन्ट ‘गोर्खा कप’ यही जुलाई २४ मा हुने भएको छ ।आगामी जुलाई १८ गते पत्रकार सम्मेलन गरि कार्यक्रमबारे सम्पूर्ण जानकारी दिने आयोजकको भनाई छ । भर्चुअल रुपमा हुने उक्त सम्मेलनमा सहभागि हुन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

कोभिड महामारीको कारण पिल्सिएका हजारौँ नेपालीले दुई बर्षदेखि पर्खिरहेको उक्त कप सयौँ अनिश्चितताको बीच २४ जुलाईमा आयोजना गर्ने निर्णय भएको नमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङले लण्डन नेपाल न्यूजलाई बताए । गत बर्ष मे २४ मा आयोजना गरिएको उक्त गोर्खा कप महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनको कारण स्थगन गरिएको थियो ।

उक्त कप सँगै तमुधिं यूकेको १९ औँ बार्षिकोत्सब यस बर्ष भव्य बनाउने तयारी भएको अध्यक्ष गुरुङले बताए । हरेक बर्ष मे महिनामा मनाउने गरिएको उक्त इभेन्ट यस बर्ष दुई महिना धकेलिएको गुरुङको भनाई छ । यसपटक भेट्रान र नन भेट्रान दुवै तर्फको खेलहरु हुनेछन् ।

गोर्खा कप जित्नेले नन भेट्रान तर्फ ट्रफीसहित २५ सय पाउन्ड, द्धितियले १५ सय पाउन्ड पाउनेछन् । त्यस्तै भेट्रान तर्फ पनि ट्रफीसहित क्रमश १२ पाउन्ड र ८ सय पाउन्ड पाउनेछन् । त्यस्तै म्यान अफ द म्याच, उच्च स्कोररलाई पनि ट्रफी सहित सम्मानपत्रले सम्मान गरिनेछ ।

उक्त अवसरमा प्यारासुट डिस्प्ले, नेपाली सांस्कृति नृत्यहरुसहित विभिन्न नोपली कला, संस्कृति झल्काउने स्टलहरु रहनेछन् । हरेक बर्ष आयोजना गरिदै आइएको उक्त गोर्खा कपलाई कोभिड १९ महामारीको अवस्थावीच भव्य र सभ्य बनाउने अभियानमा आयोजक लागेको उनले बताए । कम्तीमा १० हजारले अवलोकन गर्ने यूकेको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा बेलायतका प्राय शहरबाट नेपाली आउने गर्छन ।

पाका मानिसलाई पुराना दौंतरी भेट्न, गफिन र तन्नेरीलाई ‘डेट’ गर्न उपयुक्त मानिन्छ गोर्खा कप । स्थानीय रसमोर बरो काउन्सिलले उक्त इभेन्टलाई आफ्नो वार्षिक क्यालेन्डरमै राखेको छ । इभेन्टकै कारण स्थानीय व्यापार समेत प्रवर्धन हुने ठानिन्छ । बेलायती नेपाली डायस्पोराको सबैभन्दा वृहत इभेन्ट गोर्खा कपले नेपाली युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै नेपाली कला, संस्कृति, खाना, वेशभूषाको समेत प्रवर्धन गर्ने विश्वास आयोजकलाई छ । कार्यक्रममा खाना तथा हस्तकलाका स्टल, प्यारा डिस्प्ले, राफल ड्र, सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण हुने गरेका छन् । यसपटकको गोर्खा कपमा सहभागि हुनको निम्ती टिम दर्ता गराउन चाहनेले १० जुलाईसम्म सम्पर्क गर्न सक्नेछन् । त्यस्तै स्टल बुक गर्नको निम्ती पनि १० जुलाई सम्म मिति तय गरिएको छ । १८ जुलाईको दिन टिम र म्याच ड्रको घोषणा गरिने तयारी आयोजकले गरेको अध्यक्ष गुरुङले बताए ।

तमुधिं यूकेका सल्लाहकार तथा तमुधिं लण्डन इकाईका पूर्वअध्यक्ष डेविड गुरुङले लण्डनबाट बलियो टीम बनाउने भन्दै यस पटक महामारीको पीडा बिर्सने गरी इभेन्टलाई भव्य बनाइने बताए । ‘बेलायतवासी नेपाली र खेलप्रेमीहरुले पर्वका रुपमा मनाउंदै आएको इभेन्ट रोकिदा हजारौँलाई चोट परेको थियो,’ उनले भने, ‘दुई बर्षसम्म खुलेर रमाउन नपाएको पीडा, त्यसैमाथि कोभिडको कारण संक्रमित भएका र आफन्त गुमाउनुपर्दाको दुख साटासाट गर्ने अवसरको रुपमा यसपटकको मेलालाई लिइएको छ’।