सिड्नीमा फेरी बढ्न थाल्यो कोरोना, प्रतिबन्द थप्ने तयारी

सिड्नी ।

अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको व्यापारिक शहर सिड्नीमा कोभिड १९ संक्रमण बढ्दै जान थालेको छ । बुधबार रातिसम्म बोन्डाई क्लस्टरवाट ३१ जनामा भाइरस संक्रमित भएको पुष्टि भइसकेको यहाँको सरकारी निकायले जनाएको छ ।

संक्रमण बढ्दै गएपछि राज्य सरकारले सिड्नी क्षेत्रमा थप प्रतिबन्धहरु लगाउने भएको छ । यसअघि मास्क अनिवार्य गराइसकेको सरकारले मानिसहरुको जमघट हुने क्षेत्रहरुमा कडाइ गर्ने तयारी गरेको छ।

तर अत्यन्तै आवश्यक नभईकन लकडाउन गर्ने योजना तत्काल नभएपनि प्रकोपको शिलशिलालाई मध्यनजर राखेर निर्णय गरिने न्यू साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडिस बेरीजिक्लयनले स्पष्ट पारेकी छन् ।

राज्य सरकारले अब बालबालिका सहित केवल पाँच जना सम्मलाई मात्र घरमा बोलाउन पाइने नियम बनाएको छ । यस्तै घरभित्र बाहेकका स्थानमा भवन भित्र बस्दा पनि अनिवार्य मास्कको प्रयोग गर्नु पर्नेछ । जिममा एक पटकमा २० जनासम्म मात्र रहन सक्ने छन् भने उनीहरूले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने भएको छ ।यसै गरी भवन भित्रका कार्यक्रममा नाचगान गर्न प्रतिबन्ध लगाइएको छ भने पब लगायतका सार्वजनिक स्थानमा उभिएर पिउन बन्देज लगाइएको छ ।

बोन्डाईमा हालसम्मकै संक्रामक मानिएको भारतबाट उत्पति भएको डेल्टा भेरीयन्टका १६ जना संक्रमित एकैदिन पुष्टि भएका थिए । यसले प्रकोपको रुपनै लिन सक्ने भएको कारण सरकारले प्रतिबन्धहरु हटाउने निर्णय गरेको हो ।

सिटी अफ सिड्नी, वेभरली, रेन्डविक, क्यानडा बे, इनर वेष्ट, बे साईड तथा वुल्लाहराका स्थानीय क्षेत्रहरूमा बसोबास एवं काम गर्ने मानिसहरूलाई अत्यावश्यक बाहेक सिड्नीको मेट्रो क्षेत्रबाट बाहिर जान निषेध गरिएको छ । यस अघि मंगलबार सात दिनका लागि अनिवार्य मास्कको नियम थपिएको भए पनि कार्यस्थल र बाहिर हुने कार्यक्रममा पनि मास्कलाई अनिवार्य गरिएको छ ।

बेरीजिक्लयनले सरकारले जारी गरेका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न आग्रह गर्दै संक्रमणको चेन ब्रेक गर्नको निम्ती संक्रमण हुनसक्ने आशंका गरिएका क्षेत्रहरुका मानिसहरुले परिक्षण गराउन समेत आग्रह गरेकी छिन् ।