बेलायतबासी स्याङ्जालीले राजदूत रेग्मीलाई केक काटेर गरे भव्य स्वागत

लण्डन । बेलायतमा रहेका स्याङजाबासीहरुले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीसँग भेटघाट तथा स्वागत गरेका छ्न । कार्यक्रममा राजदूत रेग्मी तथा उनकी धर्म पत्नी चन्द्रकला रेग्मी लगायत दुताबास परिवार समेत सहभागी थिए।

स्याङ्जा जिल्लामा जन्मेर हुर्केर मुख्यसचिव सम्म पुगेका रेग्मी बेलायतमा राजदूतको रुपमा आउँदा स्याङ्जा घर भएका बेलायतबासीहरु खुशी भएका छन् ।

क्याम्बर्ली स्थित मिमोसामा भएको प्रत्यक्ष भेटमा स्याङजा समाज यूकेको तर्फबाट राजदूत रेग्मीलाई खादा र फूलको गुच्छा सहित केक काटेर स्वागत गरिएको समाजका बरिष्ठ सल्लाहकार तथा सामाजिक अभियन्ता डेविड गुरुङले बताए ।

यसअघि समाजले जुम मार्फत भर्चुअल रुपमा राजदूत रेग्मीको स्वागत गरेका थिए । महामारीको कारण प्रत्यक्ष भेट्न नपाएका उनीहरुले महामारी अलिक कम हुँदै गएपछि सावधानीको साथ परिचयात्मक कार्यक्रम गरेका हुन् ।

फादर्स डे को अवसरमा भएको उक्त भेटमा बोल्दै स्याङ्जाबासीले बेलायतमा नेपालीहरुको अभिभाबक राजदूत नै हुने भएको भन्दै आफ्नो जिल्लाको राजदूत पाउँदा खुशी ब्यक्त गरेका थिए ।

यसरी भेट हुन पाउँदा राजदूत रेग्मीले पनि खुशी प्रकट गर्दै आफ्नो कार्यकालमा सम्पूर्ण नेपालीहरुसँग आत्मियताका साथ सहज रुपमा देशसंग निकट रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बेलायतमा स्याङ्जाबासीहरुको धेरै नै जनसंख्या भए पनि महामारीको कारणले गर्दा ३० जना भन्दा बढी जम्मा हुन नपाउने नियमलाई आत्मसाथ गर्दै कम मात्रामा उपस्थिती रहेको थियो ।

समाजका अध्यक्ष शारदा गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा समाजका सल्लाहकार सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

उपाध्यक्ष भरत गुरुङले संचालन गरेको कार्यक्रममा मगर समाज यूकेका अध्यक्ष सुनिल राना,एनआरएन युके इंग्ल्याण्ड राज्य समन्वय परिषद्का उपाध्यक्ष लाल बहादुर (रबिन) गुरुङ्ग,आमासमूह अध्यक्ष गोमा राना, के.बी.इस.यूके अध्यक्ष कृष्ण गुरुङ, के.बी.एस.यूकेका आमा समूह अध्यक्ष खुमा थापा, पूर्व अध्यक्ष दूर्गा गुरुङ, ज्याग्दी खोलाका कुम खान, बडी बिल्डीङ्ग एसोसियसनका सल्लाहकार गंगा गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

को हुन् रेग्मी ? 

सन् १९६६ नोभेम्बर १६ मा स्याङजाको वालिङ नगरपालिका वडा नम्बर ७ मा जन्मिएका रेग्मी सन् १९९५ मा गृह मन्त्रालयको शाखा अधिकृत पदबाट निजामति सेवामा प्रवेश गरेका थिए । सन् २००२ मा उनी वन तथा भूसंरक्षण मन्त्रालयको उपसचिव भएका थिए । सन् २००६मा उनी अर्थ मन्त्रालयमा सहसचिव भएका थिए । सन् २०१४ मा उनी भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव भएका थिए । त्यसयता उनी अर्थ सचिव, गृह सचिवको कार्यभार सम्हाल्दै २०१७ देखि मुख्य सचिवका रुपमा कार्यरत थिए ।