काठमाडौं, २२ असोज । मुलुकको चर्चित औद्योगिक घराना चौधरी समूहले आफ्नै ब्रान्डमा मोबाइल फोन बिक्री सुरु गरेको छ । समूहले बिहीबार साँझ राजधानीमा भव्य समारोहबीच ‘सिजी मोबाइल’ सार्वजनिक गर्यो ।
डेढ दशकदेखि विदेशी ब्रान्डका मोबाइल बिक्री गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले आफ्नै ब्रान्डको मोबाइल बजारमा ल्याएको हो । सिजी मोबाइल इओएन र अष्ट्रो गरी दुई सिरिजमा उपलब्ध छ ।
इओएन सिरिजमा स्मार्टफोन र अष्ट्रो सिरिजमा फिचरफोन उपलब्ध गराएको कम्पनीले जनाएको छ । कम्पनीले स्मार्ट र फिचर फोनको हाइबि्रड पीडीए मोडल पनि उपलब्ध गराएको छ ।
सिजी मोबाइलको मूल्य न्यूनतम १२ सय रुपैयाँदेखि अधिकतम २३ हजार ५ सय रुपैयाँसम्म तोकिएको छ ।
कम्पनीले स्मार्टफोनका दुईवटा मोडल र फिचरफोनका पाँचवटा मोडल बिक्री सुरु गरेको छ । निकट भविष्यमै पाँच मोडलका स्मार्टफोन र दुई मोडलका फिचरफोन बजारमा ल्याउने सिजी मोबाइलका मार्केटिङ प्रमुख रमेश श्रेष्ठले जानकारी दिए ।
चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्ता सुहाउँदो मोबाइल फोन बजारमा ल्याएको बताए । उनले आगामी एक वर्षभित्र नेपाली मोबाइल बजारमा नम्बर ३ ब्रान्ड बन्ने विश्वास व्यक्त गरे ।
कम्पनीले एक वर्षमा फिचर र स्मार्टफोन गरी करिव ४ लाख फोन बिक्री गर्ने लक्ष्य राखेको मार्केटिङ प्रमुख श्रेष्ठले दाबी गरे । सिजी ब्रान्डप्रति उपभोक्ताको विश्वास र बलियो टिमका कारण एक वर्षमा नम्बर ३ ब्रान्ड बन्न असम्भव नरहेको उनको भनाई थियो ।
समूहले सन् २०१० मा सिजी ब्रान्डमा सिडिएम मोबाइल बजारमा ल्याएको थियो । नेपालमा सिडिएमए मोबाइल प्रयोगकर्ता घट्दै गएपछि कम्पनीले उत्पादन बन्द गरेको थियो । पाँच वर्षपछि अत्याधुनिक प्रविधियुक्त स्मार्टफोन लिएर बजारमा आएको प्रबन्ध निर्देशक चौधरीले बताए ।








