जर्मनीको साइबर सेक्युरिटी अथोरिटीले देशमा भएको व्यापक साइबर हमलाको मामलामा आफ्नो बचाउ गरेको छ । यो हमलामा सयौं नेताहरुको नीजि जानकारी सार्वजनिक गरिएको छ ।
यो मामलामा साइबर सेक्युरिटी अथोरिटीले अत्यधिक आलोचनाको सामना गर्नुपरिरहेको छ । अथोरिटीलाई हप्तौं अघि उक्त साइबर हमलाबारे जानकारी भएपनि उसले पुलिसलाई जानकारी नदिएको भन्ने आरोप लागेको छ ।
यद्यपी, यता एजेन्सीले भने आफूलाई बिहिबार रातीसम्म डेटा लिकबारे पुरा जानकारी नभएको स्पष्टिकरण दिएको छ ।
उक्त साइबर हमलामा जर्मनीकी चान्सलर एंगेला मर्कलसमेत सयौं जर्मन नेता, पत्रकार र विभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्तिका नीजि जानकारी इन्टरनेटमा सार्वजनिक गरिएको छ ।
अहिलेसम्म साइबर हमला कसले गरेको हो, त्यसबारे जानकारी उपलब्ध छैन ।
उक्त साइबर हमला डिसेम्बरमा भएको थियो तर यसबारे शुक्रबार मात्रै थाहा भयो ।
साइबर हमलाका शिकार विभिन्न हस्तीको कन्ट्याक्ट लिस्ट, व्यक्तिगत कुराकानी (च्याट मेसेज) र आर्थिक मामलासँग जोडिएका जानकारी ट्वीटरमा जारी गरियो । यद्यपी, दक्षिणपन्थी राजनेता भने यो हमलाबाट बचे ।
गृहमन्त्रीका अनुसार संसदीय वा सरकारी संयन्त्र यसबाट प्रभावित भएको कुनै प्रमाण भेटिएको छैन र उक्त हमला ह्याकिङका कारणले भएको हो वा कुनै लिक डेटालाई हाँसिल गर्ने कोसिस गरिरहेको छ भन्ने बारे पनि स्पष्ट हुन सकेको छैन ।
कसलाई कहिले, के थाहा थियो ?
इन्फर्मेशन सिक्योरिटीको संघीय कार्यालय (बिएसआई) अहिले आलोचनाको घेरामा छ । बिएसआईलाई डिसेम्बरमा यो लिकबारे जानकारी भएको बताइन्छ तर संघीय अपराध कार्यालयलाई यसबारे शुक्रबार बताइयो ।
बिएसआईका अध्यक्षले भने, ‘हाम्रो समुहले प्रभावित सांसदसँग डिसेम्बरमा पनि कुरा गरेको थियो र मोबाइल इन्सिडेन्ट रेस्पोन्स टिम बनाएको थियो ।’
यद्यपी, शनिबार बिएसआईले एक बयानमा आफूहरुलाई थुप्रै हप्तासम्म पाँच भिन्न–भिन्न मामलाबारे थाहा भएको र बिहिबारसम्म आफूहरुले यी सबै मामलाको सम्बन्धबारे एकिन गर्न नसकेको बताएका छन् ।
यसअघि बामपन्थी पार्टी डि लिंकाका प्रमुख डिटमर बाचले यो घटना कुनै पनि हालतमा स्विकार्य नभएको बताएका छन् । बाचले बिएसआईलाई सोधे, ‘के तपाईंहरुले अरु कुरा पनि लुकाइरहनु भएको छ ?’
यसैबीच सांसद एन्ड्रे हेननले आफूलाई यो कुराले निकै स्तब्ध छु । उनले भने, ‘मलाई यो लिकबारे मिडियाबाट थाहा भयो जबकी म संसदीय निगरानीको सदस्य हुँ । संघीय सरकारले क्रिसमस र नयाँ वर्षको बीचमा पनि संसदलाई आवश्यक जानकारी उपलब्ध गराउने जिम्मेवारी हुन्छ ।’
निशानामा को थिए ?
राष्ट्रिय र केही स्थानीय नेताका साथै टेलिभिजन पर्सनालिटीका जानकारी पनि चोरी भएका छन् ।
जर्मनीकी चान्सलर एंगेला मर्केलका इमेल ठेगाना र थुप्रै चिट्ठी अनलाइनमार्फत जारी गरियो ।
मुख्य संसदीय दल जसमा सत्ताधारी सेन्टर–राइट र सेन्टर लेफ्ट पार्टी र ग्रिन्स, लेफ्ट विंग डी लिंका र एफडीपी संलग्न छन् । एएफडी मात्र साइबर हमलाबाट बच्न सफल भएको छ ।
ग्रिन्सका नेता रोबर्ट हबेकले परिवारसँग गरेका नीजि कुराकानी (च्याट मेसेज) र कार्ड डिटेल अनलाइन पोष्ट गरिएको छ ।
लिक भएका जानकारीले कति क्षती पुर्यायो त्यसको आँकलन अहिले गरिएको छैन तर जर्मनीमा न्यायिक मामलाका मन्त्री क्याटरिना बारलेका अनुसार यो एक ‘निकै गम्भीर’ हमला थियो ।
उनले भनिन्, ‘यो हमलाका लागि जिम्मेवार मानिसहरुले लोकतन्त्र र संस्थामाथि हाम्रो विश्वास डगमगाउने कोसिस गरेका छन् ।’
अहिलेसम्म हमला कसले गरे त्यसबारे पत्ता लाग्न नसकेपनि शंकाको सुई जर्मनीका दक्षिणपन्थी समूह र रुसतर्फ छ ।
रुसमाथि पहिले पनि जर्मनीमा साइबर हमला गरेको आरोप लागेको छ । पछिल्लो वर्ष सरकारको आइटी नेटवर्कमाथि हमला भएको थियो, यसको संदिग्ध पनि रुसलाई नै बताइएको थियो ।
एजेन्सी






