लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ नेतृत्वको लागि निर्वाचन आगामी जुलाईको अन्तिम साता हुने भएको छ ।
गैरआवासीय नेपाली संघ युकेको शुक्रवार साँझ बसेको बैठकले संघको ८ औं महाधिवेशन तथा निर्वाचन जुलाई ३१ तारिख, शनिवारका दिन गर्ने निर्णय गरेको हो ।
संघकी अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षतामा ७ घण्टा चलेको बैठकले निर्वाचन समितिको प्रमुख आयुक्तमा संघका पूर्वअध्यक्ष तथा संरक्षक महेन्द्र कंडेललाई सर्वसम्मतले चयन गरेको छ ।
(एनआरएनए) यूकेले गत अप्रिल १ देखि जुन १० सम्मको समयसीमा दिएर एमआइएस प्रणालीबाट पञ्जीकृत सदस्यता वितरण शुरु गरेको छ ।
संघको नयाँ नेतृत्वको लागि निर्वाचन नजिकिंदै गर्दा आकांक्षीहरु मैदानमा उत्रने क्रम शुरु भएको छ ।
अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षहरु प्रेम गाहामगर,रोजिना प्रधान राई, सुनिल खड्का र इंल्याण्ड राज्यपरिषदका अध्यक्ष दीपक श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । महासचिवमा भने सचिव जीत रानाभाटले उम्मेद्वारी घोषणा गरेका छन् ।






