काठमाडौं । चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालार्इ चितवन समाज आयरल्याण्डले आर्थिक सहयोग गरेको छ । रङ्गशाला परिसरमा आयोजित एक कार्यक्रमकाबीच समाजका महासचिव विबेक राज सपकोटाले रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ लाई तीन लाख रुपैयाको चेक हस्तान्तरण गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष धुर्मुसले कठिन परिस्थितिमा पनि बिदेशी भुमिमा रहेर बगाएको रगत पसिनाको कमाइ संकलन गरी सहयोग उपलब्ध गराएको भन्दै दाता संस्था चितवन समाज आयरल्याण्डका अध्यक्ष चेतराज ओली र सम्पुर्ण आयरल्याण्ड वासी सहयोगी नेपालीहरुप्रति आभार ब्यक्त गरे ।
समाजका महासचिव सापकोटाले जनस्तरबाट निर्माणाधीन रङ्गशालालाई सम्पन्न गराउन सरकारदेखि गैरआवसीय नेपाली सम्मलाई सहयोगको निम्ति आव्हान गरे । चितवन समाज आयरल्याण्डका सदस्य मुकुन्द भुसालले सहजीकरण गरेको कार्यक्रममा शिक्षाप्रेमी ज्ञानराज सापकोटा र सञ्चारकर्मी हेमराज रिमालको समेत सहभागिता थियो ।






