एनआरएन यूके सचिवमा अठोट सहित विष्णु चालिसेको दावी, गरे यस्तो अपिल

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए)यूकेको आसन्न निर्वाचनमा मिडल्याण्डबाट सफल युवा व्यवसायी, सामाजिक व्यक्तित्वका धनी तथा सक्रिय समाजिक अभियन्ता बिष्णु चालिसेले सचिव पदमा उम्मेद्वारी दिने भएका छन्।

एनआरएनए यूकेलाई सशक्त, जनप्रेमी, पारदर्शी र आधुनिक बनाउने उद्धेश्यको साथ सचिव पदमा उम्मेद्वारी दिएको चालिसेले लण्डन नेपाल न्यूजलाई बताए । मिड्ल्यान्डको नोटिघम शहरमा बस्दै आएका चालिसे एनआरएनए यूकेको २०२१–२०२३ को लागि हुने नयाँ कार्यसमितीको नयाँ नेतृत्वको लागि मिडल्याण्डका नेपाली संघसंस्थाहरुको प्रतिनिधित्व गर्दै उम्मेद्वारी घोषणा गरेको बताए । नेपालको बाग्लुङ जिल्ला गल्कोट नगरपालिकामा जन्मिएका चालिसे नवलपुर गैंडाकोट हुँदै कामको शिलशिलामा बेलायत आएका हुन् ।

सन् २००० देखी नै यूरोपको जर्मनी हुदै बेलायतलाई आफ्नो कर्म थलो बनाएका बेलायतको नेपाली समुदायमा एक सबल, नेतृत्वदायक र जुझारु युवाको रुपमा परिचय कमाएका छन् । व्यावसायिक सफलता समेत हासिल गरेका चालिसेले एनआरएनएमा नेतृत्व गर्दै नेपालीहरुको सेवा गर्न चाहेको बताए ।

‘एनआरएनएको मुख्य उद्धेश्य भनेको प्रवासमा रहेका नेपालीहरुको मुद्धा सम्बन्धित ठाँउमा पुर्याउने र मुद्धा कार्यान्वयन हुने वातावरण सिर्जना गर्ने हो,’ उनले भने, ‘विदेशमा मात्र नभएर स्वदेश नेपालमा पनि एनआरएनएको प्रेरणादायी कामको निम्ती म लागिपर्ने छु ।’ बेलायत बसाइको सुरुवातीदेखि नै सामाजिक कायमा हातेमालो, गर्दै सहकार्य र समाजसेवा गर्न रुचि राख्ने उनले नेपाली समाजको नोटिघमको संस्थापक सदस्य, महासचिव हुदै अध्यक्ष रुपमा पनि समाजसेवा गरे । आपनो अध्यक्ष रहँदाको कार्यकालमा २०७२ सालमा नेपालमा गएको शक्तिशाली भूकम्पमा परी प्रभावित भएका नेपालीहरुको निम्ती समाजको तर्फबाट मात्र नभएर ब्यक्तिगत रुपमा पनि लाखौ बराबरको अर्थ संकलनको नेतृत्व समेत गरेका थिए ।

भूकम्पको केन्द्रबिन्दू गोरखाको बारपाक क्षेत्रमा पनि मानिसहरुलाई राहात वितरणमा सक्रिय भूमिका खेलेका उनले आफ्नो व्यवसायबाट हरेक बर्ष च्यारीटिको रुपमा क्यान्सर यूके, लोकल काउन्सिल, नेपालमा असाह्य बालबालिकाको लागि सहयोग, हेल्प फर हिरो लगायतमा सहयोग पनि गर्दै आइरहेका छन् ।

मिड्ल्याण्डमा रहेको नेपालीहरुको संस्था साझा नेपाली समाजको स्थापना र सञ्चालन गर्नमा पनि महत्वपूर्ण भूमिका निभाएका उनले मिड्ल्याण्डबासी नेपालीहरु एकबद्ध हुनुपर्नेमा जोड दिदै आएका छन् । उक्त संस्थामा उनले संस्थापक सदस्य, महासचिव हुदै उपाध्यक्षको रुपमा समेत समाजसेवा गरेका थिए । समाजसेवालाई आफ्नो धर्म ठान्ने उनले एनआरएनए मार्फत आफ्नो सेवाको कर्म अझै उदार बनाउँदै लैजाने बताए ।

‘सानै उमेरदेखि समाजको हिस्सा बनेर बाँच्नुपर्छ भन्ने मेरो उद्धेश्य थियो’, लण्डन नेपाल न्यूजसँग उनले भने, ‘अहिले गरिरहेको पनि छु, र एनआरएनएबाट पनि त्यसलाई अझै फराकिलो बनाउन चाहान्छु ।’ हाल एनआरएनए यूकेको सल्हाहकार तथा राज्य समन्वय विभागको सदस्यसचिव रहेर काम गरिरहेका उनले आफ्नो कार्यकालमा विभिन्न संघसंस्थासँग एनआरएनएलाई जोड्न पनि भूमिका खेलेका छन् ।

‘विगतका अनुभवहरुबाट सिकेर अझै बलियो रुपमा समाजको अंग बन्न चाहान्छु, त्यसैको निम्ती नेपाल र नेपालीकै हितको निम्ती यो मेरो उम्मेद्वारी हो,’ उनले भने । गल्कोट समाज यूकेको सल्लाहकार रहेका चालिसे बाग्लुङ समाज यूके र नवलपुर समाज यूकेको सदस्य पनि हुन् ।