तक्दीर अधिकारी
डार्विन। अष्ट्रेलियामै कोरोनाभाइरस महामारीको संक्रमण तुलनात्मक रुपमा कम मानिएको डार्विन राज्यमा गैरआवासीय नेपाली संघ एनआरएनए नर्दन टेरिटोरी राज्यपरिषदको आयोजनामा ‘नेपाल फेस्टिबल’ आयोजना गरिएको छ ।
नेपाली कला संस्कृतिको जगेर्ना गर्ने र विदेशी भूमिमा नेपाल झल्काउने उद्धेश्यस डार्विनको वटरफ्रन्टमा यही मे २९ तारिखमा ‘नेपाल फेस्टिभल २०२१’ आयोजना गरिएको हो । कार्यक्रममा विशेष आकर्षणको रुपमा नेपाली, रीतिरिवाज, सांस्कृतिक नृत्यहरु, नेपाली परम्परागत खाना, नेपाल हाउस, चित्रकला, नेपाली अक्षर र शब्द प्रदर्शनी, बालबालिकाहरुका खेलकूद गतिविधि तथा विभिन्न रोचक स्टलहरु लगायत रहेका छन् । यस क्षेत्रमा अध्ययन गर्ने बालबालिकाहरुले नेपाली परम्परागत पोशाकमा नृत्य प्रस्तुत गर्ने एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा नर्दन टेरिटोरीका संयोजक हेम पुनले बताए ।
२०१८ देखि आयोजना गर्न थालिएको नेपाली फेस्टिबल यसपटक एनआरएनएको दोस्रो संस्करण हो । यस अघि यस क्षेत्रमा रहेका स्थानीय समुदायहरुले पनि यसप्रकारका कार्यक्रमहरु गर्ने गरेको उनले बताए ।
‘स्थानीय संस्थाहरुले फुड एन्ड कल्चर भनेर कार्यक्रम गरेका थिए ‘, उनले भने, ‘एनआरएनले अहिले स्थानीयलाई नै बढी प्राथमिकता दिएर सुरक्षा मापदण्ड पालना गरेर कार्यक्रम गर्दैछौँ ।’
उनले १० हजार मानिसहरु उपस्थित हुने अपेक्षा गरिएको जानकारी दिदै डार्विनका मुख्यमन्त्री माइकल कर्नर, संघीय सांसद लुक घोस्लिङ, अष्ट्रेलियाका लागि नेपाली राजदूतावासका प्रतिनिधि तथा एनआरएनएका पदाधिकारीहरुको भव्य उपस्थिती हुने जानकारी दिए ।
यस कार्यक्रम गर्नको निम्ती सरकारले तीन बर्षको लागि ९३ हजार डलर प्रदान गरेको भन्दै उनले यस बर्षको लागि ३३ हजार ४ सय आइसकेको बताए । भेस्टिबलमा नेपाली सांस्कृति प्रस्तुती दिनको निम्ती २ सय स्वयंसेवकहरु खटिने छन् । जहाँ ५ रेष्टुरेन्टहरुले टिपिकल नेपाली सांस्कृतिक तथा नेपाली परम्परागत भोजनको व्यवस्था गर्ने पुनले बताए ।कार्यक्रममा सिड्नी सिटी कलेज, केबीए ग्लोबल, एक्रोन एनआरले मुख्य प्रायोजन गरेका छन् ।

गैरआवासी नेपाली संघअष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसीको २००५ देखि २००७ सम्मको कार्यकालमा नेपाली फेस्टिबलको कल्पना गरिएको थियो । नेपाल र नेपाली कला संस्कृति खाना, सम्पदा, मौलिकतालाई अन्तराष्ट्रिय बजारमा चिनाउने, नेपालप्रति विदेशका मान्छेहरुलाई आकर्षित गराउने र नेपालमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ यस फेस्टिबलको अवधारणा ल्याई पहिलो पटक २००६ मा सिड्नीमा कार्यक्रम गरिएको केसीले बताए ।
‘हामीहरुले कार्यक्रम शुरू गरेसँगै एनआरएनएको आईसीसी हुँदै अन्य कमिटिहरुमा पनि कुरा पुग्यो र विश्वका धेरै देशहरुमा नेपाली समुदायहरुवीचमा अन्तरक्रिर्या, नेपालीहरुमा सद्भाव बढाउने उद्धेश्य राख्दै यसप्रकारका फेस्टिबल हुँदै आएका छन् ‘, उनले भने ।
यसअघि आयोजना गरिएका कार्यक्रमले यहाँका मानिसहरुलाई आकर्षित गर्न सफल भएको अनुभव सुनाउँदै उनले विदेशमा नेपाललाई चिनाउने एक माध्यम नेपाली फेस्टिबल बन्न सफल भएको बताए ।
२००६ मा सिड्नीमा आयोजना गरिएको यो कार्यक्रममा त्यसपछि मेलबर्न, ब्रिसबेन, साउथ अष्ट्रेलिया हुँदै हरेक राजयमा विस्तार भएको हो ।हरेक दुई बर्षको अन्तरमा गरिने यस कार्यक्रम विश्वभर नै नेपाली फेस्टिबलको रुपमा परिचित छ ।






