अस्ट्रेलियाली सीमा खोल्न अझै सुरक्षित छैनः प्रधानमन्त्री मोरिसन

क्यान्बेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशको अन्तर्राष्ट्रिय सीमा तत्कालै खोल्न अझै सुरक्षित नरहेको बताउनु भएको छ । राजनीतिक दलका नेताहरु र व्यावसायिक व्यक्तिहरुले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खोल्नेतर्फ लचकता अपनाउन गरिएको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री मोरिसनले अझै पनि कोभिड–१९ को महामारीका कारण सीमा खोल्न सुरक्षित नरहेको स्पष्ट पारेका छन ।

अस्ट्रेलियाको संसदमा सरकारले प्रस्तुत गरेको सन् २०२१–२२ को बजेटले पनि देशको अन्तर्राष्ट्रिय सीमा आगामी सन् २०२२ को मध्यसम्म खुला नहुने सङ्केत गरेको छ ।

प्रधानमन्त्री मोरिसनले सोमबार संवाददाताहरुसँग भने , “अहिल्यै कुनै कदम चालिहाल्नु त्यति सुरक्षित छैन । एक दिन सीमा खोल्ने, अर्को दिन बन्द गर्ने कार्य त्यति व्यवहारिक हुँदैन । यसरी हुँदैन ।”

उहाँले अगाडि थपे , “खासमा समग्र सीमा व्यवस्थापन मुख्य कुरा हो, सुरक्षित भएको सुनिश्चित नहुँदासम्म सीमा खोल्न सकिँदैन ।”