एनआरएन यूकेमा आमुल परिबर्तन ल्याउने भन्दै दीपक श्रेष्ठले गरे अध्यक्षमा लड्ने घोषणा

लन्डन ।गैरआवासिय नेपाली संघ (एनआरएनए) युकेमा भावी अध्यक्षका लागी उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । एनआरएनए इंग्ल्याण्ड राज्य परिषदका अध्यक्ष दीपक श्रेष्ठले आगामी निर्वाचनमा एनआरएनए यूके अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि एनआरएनए यूकेको कोषाध्यक्षका रुपमा सशक्त भूमिका निभाएका श्रेष्ठले नेपाली समुदायका अग्रजहरुको सुझाव सल्लाह र एनआरएनएमा आफ्नो दशक लामो अनुभवले देखिएका समस्या र चुनौतीहरुलाई समाधान गर्न अध्यक्षमा उम्मेदवारी दिन लागेको बिहीबार लन्डन नेपाल न्यूजसंग बताए । उनले छिट्टै एक औपचारिक कार्यक्रम मार्फत आफ्नो उम्मेदवारी घोषणा र प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी भै रहेको बताए ।

बेलायतका मुख्य मुख्य संघसंस्थासंग शुरुदेखि नै छलफल र सल्लाह गर्दै आएको बताउंदै श्रेष्ठले एनआरएनए यूकेलाई बेलायतका सबै नेपालीको साझा संस्था बनाउने आफ्नो मुख्य प्राथमिकता रहने र आमुल सुधारको प्रयास गर्ने बताए ।

एनआरएनए इंग्ल्याण्ड राज्य परिषदका अध्यक्ष तथा बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष श्रेष्ठले लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती मनाउने परम्परा शुरु गरेर निकै प्रशंसा बटुलेका थिए ।

एनआरएनए यूकेको भावी अध्यक्ष जित्ने आधार के छ भन्दा उनले लन्डन नेपाल न्युज संगको कुराकानीमा दाबी गरे । बिगत २००८ देखि लगातार समाज र सामाजिक काममा निश्वार्थ भावनाले बेलायत स्थित बिभिन्न संस्थामा बिभिन्न पदमा रहि पदिय दाईत्व ईमान्दारी पुर्बक बहन तथा नेतृत्व गर्दै कामै गरेर सबैको मन ज़ितेको महसूसको आधारमा सबैले मेरो कामको मूल्यांकन गरि मलाई अध्यक्ष पदमा काम गर्ने मौका दिनुहुनेछ भन्ने बिश्वास लिएको छु ।

श्रेष्ठ व्यवसायीका रुपमा मात्र नभएर बेलायतमा सामाजिक क्षेत्रमा पनि स्थापित छन् । एनआरएन यूकेका पूर्व कोषाध्यक्ष उनी बुद्ध फाउण्डेसन यूकेका संस्थापक अध्यक्ष हुन् । बेलायतमा क्यास एण्ड क्यारी,पब,फार्मेसी, रेष्टुरेन्ट,प्रोपर्टी लगायतका व्यवसायमा आबद्ध श्रेष्ठले नेपालमा समेत चलचित्र निर्माण, शेयर मार्केट तथा नेपालकै पहिलो हट एअर बेलुनमा समेत लगानी गरेका छन् ।

एनआरएन सहितका धरै सामाजिक संघसंस्थाहरुमा समेत सक्रिय रहंदै आएका उनले आफ्नै व्यक्तिगत पहलमा समेत नियमित रुपमा विभिन्न च्यारिटेबल कार्यहरु गर्दै आएका छन् ।

आफ्नो ब्यवसाय अनि सामाजिक कार्यमा ब्यस्त श्रेष्ठ एक दशक भन्दा बढी बेलायतको साउथ ईस्ट लण्डनमा आफ्नो सपरिवार सहित बस्दै आएका छन। आफ्नो परिवार र ब्यवसाय लाई भन्दा सामाजिक कार्यमा आफ्नो समय खर्चिने र रूचाउने श्रेष्ठले “अब नगरे कहिले गर्ने र हामीले नगरे कस्ले गर्ने” भन्दै एनआरएनए युकेको अध्यक्ष पदमा आफनो उम्मेदवारीको घोषणा गर्दै सबै मतदाता संग सहयोगको लागि अपिल समेत गरेका छन् ।

को हुन् दीपक श्रेष्ठ ?

मूलघर पाल्पा, पछि वाणगंगा नगरपालिका कपिलवस्तु वैरिया
बुवाः स्व. इश्वरीप्रसाद श्रेष्ठ,आमाः स्व. दुर्गादेवी श्रेष्ठ
शिक्षा स्नातक

संस्थामा आवद्धताः

२००८ पासा पुचः गुठी, सहकोषाध्यक्ष
२०१० कोषाध्यक्ष
२०१२ महासचिव
२०१२ कपिलवस्तु समाज यूके गठन, संस्थापक अध्यक्ष
२०१३–१५ एनआरएनए यूके कार्यकारी सदस्य
२०१५–२०१७ कोषाध्यक्ष
२०१८ः बुद्ध फाउन्डेसन यूके गठन, संस्थापक अध्यक्ष
२०१७–२०१९ः एनआरएनए आइसीसी संयोजक, बुद्ध–नेपाल क्याम्पेनिङ
२०१९–२०२१ः एनआरएनए यूके इग्ल्यान्ड स्टेट कोअर्डिनेशन काउन्सिल, संस्थापक अध्यक्ष