युरोपियन मुलुकले बेलायतमाथि लगाउन थाले यात्रा प्रतिबन्ध

लण्डन । बेलायतमा कोरानो भाइरस अर्थात कोभिड १९ को नयाँ भेरियन्ट अर्थात् नयाँ स्वरुप देखा परेपछि बेलायतमाथि धेरै मुलुकहरुले यात्रामा प्रतिबन्धको निर्णय गरेका छन् ।

विशेष गरी युरोपेली मुलुकहरुले बेलायतमा यात्रा गर्न प्रतिबन्ध लगाउन थालेका हुन् ।बेलायतमा कोरोना भाइरसको महामारी नियन्त्रणमा नआएपछि आयरल्याण्ड, जर्मनी, फ्रान्स, इटाली, नेदरल्याण्ड र बेल्जियमलगायतका देशहरुले बेलायतमा हवाइ उडान बन्द गरेका छन् ।

युरोपियन युनियनले यसबारे आधिकारीक निर्णय नगरेपनि ती राष्ट्रहरुले बेलायत भ्रमणका लागि आफ्नाा नागरिकलाई प्रतिबन्ध लगाएका हुन् ।

लण्डन र दक्षिण पूर्व इङ्ल्याण्डमा कोरोनाको जोखिम बढेसँगै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ती क्षेत्रमा प्रतिबन्धको घोषणा यसअघि नै गरिसकेका छन् । क्रिसमसमा तीन क्षेत्रमा हुने सार्वजनिक कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको छ ।

स्वास्थ्य सचिव म्याट ह्यान्ककले कोरोना महामारी नियन्त्रणबाहिर जाने खतरा रहेकाले पूर्वसावधानी अुनरुप प्रतिबन्ध लगाइएको बताए ।