एनआरएनए अष्ट्रेलियाले अन्तराष्ट्रिय नेपाली विद्यार्थीहरुलाई एकाडमिक एचिभमेन्ट अवार्ड प्रदान गर्दै

तक्दीर अधिकारी

सिड्नी । गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई शैक्षिक उपलब्धि अवार्ड अर्थात एकाडमिक एचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ । जसको लागि एनआरएनएले अवार्डमा सामेल हुन चाहनेहरुको लागि दरखास्त आह्वान गरेको छ । अष्ट्रेलियामा अध्ययन गरि विज्ञता हासिल गर्ने तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने गरी यस प्रकारको अवार्ड प्रदान गर्ने निर्णय भएको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले जानकारी दिए । “हामीले हरेक बर्ष एक एक अवार्ड प्रदान गर्नेछौँ, एक बर्ष व्यवसायीहरुको लागि कम्युनिटी अवार्ड, अर्काे बर्ष एकाडमिक एचिभमेन्ट अवार्ड, यस बर्ष एकाडमिक एचिभमेन्ट अवार्ड दिन लागिएको हो।” उनले भने ।

अष्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले प्रतेक बर्ष सफल नेपाली व्यवसायहरु लाई ” बिजनेस एचिभमेन्ट ” दिदै आएको भने यस बर्षदेखी हरेक दुई बर्षमा विद्यार्थीहरुलाई पहिलो पटक यस प्रकारको अवार्ड दिन लागिएको हो । यस शैक्षिक अवार्डमा सामेल हुन आन्तरिक विद्यार्थीहरु पनि पाउँनेछन् तर बाह्य अर्थात अन्तराष्ट्रिय नेपाली विद्यार्थीहरुलाई प्राथमिकता दिइने कंडेलको भनाई छ । अवार्ड सँगै नगद पुरस्कार समेत दिइने छ। उक्त अवार्डमा सामेल हुन चाहनेहरुले आउने २३ नोभेम्बर सोमबार राती ११ः५९ सम्म फर्म भर्न सक्नेछन् । जसमा पिएचडी, मास्टर्स , व्याचलर र भेट अर्थात भोकेस्नल एजुकेशन अध्ययन गर्ने विद्यार्थीहरुलाई अवसर दिइनेछ । आउने २९ गते संस्थाको बार्षिक साधारण सभाको अवसरमा जुम बैठक मार्फत विजेताको घोषणा गरिनेछ । हरेक बर्ष हुने साधारण सभाको अवसरमा यसप्रकारका अवार्डहरु घोषणा गरिने भन्दै अध्यक्ष कंडेलले यसपटक भने विशेष समारोह विनै अनलाइन मार्फत कार्यक्रम गरिने जानकारी दिए ।

युवा विज्ञता र नेतृत्वलाई बढावा दिने लक्ष्य
यो राष्ट्रिय अवार्डले विद्यार्थीहरुलाई उनीहरुको अध्ययनमा मात्र नभएर अष्ट्रेलियन टर्सिअरी एजुकेशन इन्टिच्युसनमा अनुसन्धान गरिरहेका विद्यार्थीहरुलाई समेत मद्धत पुग्ने विश्वास लिइएको उनले बताए । अष्ट्रेलियाको नेपाली समुदायमा युवा विज्ञता र नेतृत्वलाई बढावा दिने गरी उच्च सफल विद्यार्थीहरुलाई प्रोत्साहन गर्नु यस अवार्डको उद्धेश्य रहने संस्थाले जनाएको छ । यस पटक भोकेस्नल एजुकेशन एन्ड ट्रेनिङ्ग अकाडमिक एक्सिलेन्स अवार्ड, स्नातक अकाडमिक एक्सिलेन्स अवार्ड, स्नातकोत्तर अकाडमिक एक्सिलेन्स अवार्ड र पिएचडी अन्तराष्ट्रिय विद्यार्थी अकाडमिक एक्सिलेन्स अवार्ड र एनआरएनए अष्ट्रेलिया उमन इन साइन्स अवार्ड प्रदान गर्न लागिएको हो । एनआरएनए अष्ट्रेलिया विज्ञानमा महिला अर्थात उमन इन साइन्स अवार्ड भने महिला पिएचडी उम्मेद्वारलाई दिइने भएको छ । उत्कृष्ट नतिजा सहित पिएचडी गरेका सबैलाई एनआरएनएको प्रशंसा पत्र समेत दिइने छ ।

निर्णय प्रक्रिया
एनआरएनएले तोकेका मापदण्ड पुरा गरेका व्यक्तिले उक्त अवार्ड पाउनेछन् । जसमा विद्यार्थीले पाएको एकिकृत जिपिए, अष्ट्रेलियन समुदायमा उनीहरुको प्रभाव, समुदायमा उनीहरुले गरेको स्वयंसेवामूलक काम, सामुदायिक संघसंस्थाको प्रतिनिधित्व, खेलकूद, आर्ट तथा सांस्कृतिक प्रतियोगीताहरुमा गरेका उपलब्धिहरुको आधारमा विजेता घोषणा गरिने भएको छ । स्नातकोत्तर तथा पिएचडी लेवलको अवार्डमा उनीहरुले लेखेका शोधपत्रहरु, लेखहरु, व्यवसायिक संस्था तथा विभिन्न समारोहमा उनीहरुको अनुसन्धानले पाएको मान्यता अथवा सम्मान, तथा उनीहरुका सिर्जनात्मक कुराहरुलाई पनि मूल्याङ्कन गरिनेछ । अवार्डमा दरखास्त दिनेहरुले २०१९ जनवरी देखी २०२० सेप्टेम्बर भित्र शैक्षिक प्रमाणपत्र हासिल गरेको हुनुपर्नेछ । यसरी प्राप्त भएका आवेदनहरुलाई प्रोफेसर बेनु अधिकारीको अध्यक्षतामा गठित ५ सदस्यीय मूल्याकंन समितिले निणैय गर्नेछ । जसमा प्रो. प्रेम क्षेत्री, डा. मम विश्वकर्मा, डा. प्रज्ञा गर्ताेला,र डा. जोनु प्रधान सदस्य रहेका छन् ।

आवश्यक काजगातहरु
इच्छुक व्यक्तिले आवेदनमा शैक्षिक योग्यताका प्रमाणपत्रहरु, आफुले पाएका अवार्डका प्रमाणपत्रहरु, पिएचडी र मास्टर्सका विद्यार्थीहरुले गरेका रिसर्च र रिभ्यू पेपर, पेटेन्ट आइपि, एक्जिबिसन पर्फमेन्स र आफ्ना सिर्जनात्मक कामहरुको रेकर्ड र आफुले डिग्री सकाएको बर्षको प्रमाण पेश गर्नुपर्नेछ । त्यसैगरी कुनै आपराधिक अथवा कानुनको बर्खिलाप नगरेको हुनुपर्ने र भविष्यमा पनि यदि यसो गरेको पाइएको खण्डमा अवार्ड फिर्ता समेत गरिने एनआरएनएले जनाएको छ । यसरी आवश्यक कागजपत्र र विवरण सहितको आवेदन awards@nrn.org.au  मा इमेल गर्नुपर्ने छ । इमेलमा पठाउनुपर्ने काजगात तथा विवरणहरु सहितको फर्म एनआरएनएको वेभसाइटमा पाउन सकिनेछ ।
यसबारे अन्य विवरण यहाँबाट लिन सकिनेछ ।