लन्डन । बेलायतमा कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै सरकारले घोषणा गरेको एक महिने लकडाउन अवज्ञा गर्नेलाई कारवाही गरिने भएको छ । डिसेम्बर २ सम्म सरकारले लकडाउन घोषणा गरेको छ । जसमा अनावश्यक काममा घरबाट बाहिर ननिस्कन सरकारले सबैलाई अनुरोध गरेको छ ।
यदि बिना कारण घरबाहिर निस्किएको भेटिए तत्कालै दुई सय पाउण्ड जरिवाना गर्न सक्ने अधिकार प्रहरीलाई दिइएको छ । सरकारद्वारा निर्धारित काम बाहेक बाहिर निस्किएको र कुनै यथेष्ट प्रमाण पेश गर्न नसके प्रहरीले तत्कालै दुई सय पाउण्ड जरिवाना गर्न सक्नेछन् ।
उक्त जरिवाना रकम १४ दिनभित्र भुक्तानी गरेमा पचास प्रतिशत छुट गरि एकसय पाउण्ड मात्र तिर्न सकिनेछ । तर, यस्तो जरिवाना अवज्ञा गरेमा अदालती प्रक्रियामा जानेछ । गल्ती निरन्तर दोहोरिएमा प्रत्येक पल्ट जरिवाना दोब्बर र यो रकम बढीमा छ हजार ४०० पाउण्डसम्म हुनसक्नेछ । यदि अदालती प्रक्रियामा गैर यथेष्ट प्रमाण पेश गर्न नसकेमा उच्चतम जरिवाना तिर्नुका साथै ‘क्रिमिनल रेकर्ड’ समेत रहनेछ ।
सरकारले अत्यावश्यक सामग्री खरिद गर्न परेमा वा आफ्नो व्यवसाय सञ्चालन गर्न, बैंकमा पैसा राख्न वा निकाल्न, शारीरिक व्यायाम गर्न, पाठपूजा गर्न, आइतबार हुने ‘रेमेम्बरेन्स डे’ मा जान, घर किन्न, बेच्न र भाडामा लगाउनका लागि प्रोपर्टी एजेन्टकहां जान, सपोर्ट बब्बल वा चाइल्डकेयर बब्बलमा जान छुट दिएको छ ।
टेकवे खाना लिन, फोहोर मैला व्यवस्थापनका लागि जान, काममा जान, तालिम एवम् शैक्षिक गतिविधि र च्यारिटी काम, इमर्जेन्सी केयर सहायता, कानूनी प्रक्रियाका लागि, आफन्तका लागि औषधि उपचार तथा हस्पिटल सम्बन्धि काम प्रयोजन, गर्भवती महिलाको सहायताका लागि निस्कन सकिनेछ ।
यसैगरी ब्लड डोनेशन, कोभिड टेष्ट, मलामी जान, विवाहमा जान (तोकिएको संख्यामा) पशु हस्पिटल तथा पशु व्यायामका लागि, कैदमा रहेका आफन्तसंगको भेटघाट, कुनै पनि व्यक्तिलाई आपतकालीन सहायता प्रदान गर्न, होलिडेबाट फर्किएको अवस्था लगायतका विभिन्न अवस्थामा भने घर बाहिर निस्कन सरकारले छुट दिएको छ ।
यस अघि लकडाउन विरुद्ध प्रदर्शन गर्ने १०४ जनालाई सरकारले कारवाही समेत गरिसकेको छ । कोरोना महामारी विरुद्धको अभियानमा साथ दिन प्रधानमन्त्री बोरिस जोन्सनले आग्रह गरेका छन् ।
बेलायतमा लकडाउनको अटेरी गर्नेलाई २ सय पाउण्ड जरिवाना हुने






