जन्मदिनकै दिन कोरोना पुष्टि भएका वृद्धको मृत्यु !

सोनी श्रेष्ठ / काभ्रेपलाञ्चोक । गत साउन २९ गते जन्मदिन रहेकै दिन कोरोना पुष्टि भई धुलिखेल अस्तालमा उपचारार्थ रहेका एक वृद्धको ९८ वर्षको उमेरमा मृत्यु भएको छ ।

यससँगै धुलिखेल अस्पतालका ६ जना स्वास्थ्यकर्मीमा र मृतकका परिवारका थप ७ सदस्यमा समेत कोरोना संक्रमण पुष्टि भएपछि धुलिखेल अस्पताल र धुलिखेल नगरपालिका वडा नं. ५, ६ र ७ समेत सिल गरिएको छ । धुलिखेल अस्पतालका कार्यरत १ सय २० जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ भने मृतक परिवारका संक्रमित सदस्यहरुलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

कोरोना पुष्टि भएका मृतकका परिवारका २ सदस्य भने बानेश्वर स्थित घरमै होम क्वारेन्टाईनमा बस्दै आएको अस्पतालले जनाएको छ । समाजसेवी बृद्धको कोरोना पुष्टि भएकै दिन जन्मदिन परेकाले धुलिखेल अस्पतालमा उपचार गराई पुख्यौली घरमै पारिवारीक रुपमा जन्मदिन मनाउने योजना बनेको थियो । ‘तर अब उहाँसँग कहिल्यै भेटन र जन्मदिन मनाउन नपाईने भयो ‘ – परिवारका एक सदस्यले भक्कानिदै दुखेसो व्यक्त गरे ।

पहिलो पटक मृतक बृद्धलाई स्याहार सुसारमा जुटदै आएकी परिवारकै एक महिला सदस्यमा कोरोना संक्रमण पुष्टि भएपनि उनी अस्पतालको आइसोलेसनमा बस्न नमानेपछि ४ दिन अघि अस्पतालकै एम्बुलेन्समा बानेश्वर घरमा गएको अस्पताल स्रोतले जनाएको छ ।

समाजसेवी बृद्धलाई ज्वरो आउनु पहिला अहिले कोरोना संक्रमण पुष्टि भएर पनि घरमै बस्दै आएकी महिलाका साथ अर्का एक सदस्यलाई पनि ज्वरो आई औषधि सेवन गरिरहेको र परिवारलाई जानकारी नगराएको अस्पतालले गरेको ट्रेसिङ कन्ट्रयाकका क्रममा पत्ता लागेको अस्पताल स्रोतले जनाएको छ ।

हालसम्म काभ्रेपलाञ्चाक जिल्लामा कारोना संक्रमितको संख्या ९४ पुगेको छ भने २ जनाको मृत्यु भइसकेको छ र निको भएर जानेको संख्या ३० पुगेको जिल्ला स्वास्थ्य प्रमुख डा. नरेन्द्रकुमार झाले बताए ।