राजविराज- सप्तरीका ३ स्थानमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
भारदह, रुपनी र राजविराज बजार क्षेत्रमा बिहान ६ बजेबाट लागु हुने गरि अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको प्रहरीले जनाएको छ ।
प्रर्दशनकारीले रुपनीमा कर्फ्यु तोड्दै प्रर्दशन गरिरहेका छन् । कर्फ्यु तोड्ने २० भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा २ जनाको मृत्यु भएको छ । राजमार्ग अबरोध गर्न बसेका मोर्चाका कार्यकतालाई हटाउने क्रममा स्थिति तनाबपूर्ण बनेपछि प्रहरीले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो ।
सप्तरीको डाडा गाविसका वीरेन्द्र राम र बधुवा गाविसका नागेश्वर यादवको मृत्यु भएको हो । झडपमा डेढ दर्जनभन्दा बढि घाईते भएका छन् ।
रातभरी प्रदर्शन भएपछि राजधानी आउन लागेका सयौ यात्रुबाहक बस सुनसरीको इटहरीमै रोकिएका छन् । प्रदर्शनका कारण कुनै पनि सवारी साधनलाई स्कर्टिङ्ग गर्न नसकिएको प्रशासनले जनाएको छ ।
प्रहरीले केहि महिना यता सो क्षेत्रमा राति स्कर्टिङ्ग मार्फत सवारी साधनलाई गन्तब्यमा पुर्याउदै आएको थियो । पूर्व सप्तरीदेखि महोत्तरीसम्म राजमार्गमा रातभर प्रदर्शन भएको छ ।






