मञ्जु भण्डारी
लण्डन । रोयल बरो अफ ग्रीनविच नेप्लीज सोसाइटी युकेले नेपाली वेलफेयर सोसाइटी युकेको संयोजनमा बागमती प्रदेश सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका-२, तातोपानी कोदारीमा राहत वितरण गरेको छ ।
कोरोना भाइरसको महामारीले दिएको पीडा त एकातर्फ छँदेछ, त्यसैमाथी मनसुन सुरु भएसँगै सिन्धुपाल्चोक जिल्लाले बाढी पहिरोको अधिक भौतिक तथा मानवीय क्षती व्यहोर्नु परेको छ । भने सयौ परिवार विस्थापित भएका छन् । उक्त क्षेत्रमा ५० घरपरिवारलाइ केही समय भएपनि घरमा चुल्हो बलोस भन्ने ध्येयका साथ रोयल बरो अफ ग्रीनविच नेप्लीज सोसाइटी युकेले नेपाली वेलफेयर सोसाइटी युकेको संयोजनमा प्रति घर एकबोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई पाकेट आयो नुन वितरण गरिएको संस्थाकी अध्यक्ष शर्मिला हिराचन थकालीले बताइन् ।
राहत वितरण कार्यक्रममा प्रमुख अतिथि उधोग पर्यटन, बन तथा बाताबरण मन्त्री माननीय अरुण प्रसाद नेपालले जुम कन्फरेन्समार्फत सम्बोधन गरेका थिए । कोभिड-१९ को महामारी एवं भर्खरै आएको पहिरोको जोखिमबाट बिस्थापितहरुलाई राहत उपलब्ध गराएर आरजिएनएस युके वास्तवमा दुखी पीडित नेपालीहरुको आत्मीय साथी बन्न सफल भएको बताए । विदेशमा रहेर पनि संकटको यस अवस्थामा मातृभूमिलाई सम्झिएर विषम परिस्थितिमा राहत उपलब्ध गराएर संस्थाले अतुलनीय मानवीय काम गरेको बताउँदै सहयोगी नेपाली मनहरुप्रति आभार ब्यक्त गरे ।
बाचौं र बचाऔं अभियानका अभियन्ता तथा राहत वितरणको संयोजन गर्ने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष एबं एनआरएन युके कार्यसमिति सदस्य धनबहादुर सार्कीले कोरोना भाइरसको महामारीको सामना गरिरहेका र पहिरो पिडित समेत लाई एकल र सहकार्यमा यो साढे तीन महिनाको अवधिमा सातवटै प्रदेशमा १७ जिल्लाका ७३७ घर परिवारलाई खाद्यान्न राहत उपलब्ध गरिएको अध्यक्ष सार्कीले बताए ।
रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाईटी युके अध्यक्ष शर्मिला हिराचन थकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गर्दै संस्थाका उपाध्यक्ष जित रानाभाटले यसअघि रुकुमको सानिभेरी, बाग्लुङको गलकोट र तनहुँको घिरिङ र आज सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका-२, तातोपानी कोदारीमा समेत गरि २०० घर परिवारलाई सोसाइटीले राहत उपलब्ध गरिएको बताए ।
राहत वितरणलाई स्थानिय रुपमा नेपाल सरकार दलित विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली,भोटेकोशी गाउँपालिकाका उपप्रमुख दाफुटी शेर्पा, गाँउपालिकाका प्रवक्ता राजु घतानी, गाँउपालिकाकै वडा नम्बर २ का कार्यवाहक अध्यक्ष दोर्जे शेर्पा, गाँउपालिकाका सदस्य पेमा डोल्मा तामाङ, गोर्खा अर्गानिक फर्म काभ्रे, गोर्खा रेडियो पोखराका अध्यक्ष, तथा तमू धिं यूकेका नेपाल प्रतिनिधि मेजर लक्ष्मी प्रसाद गुरुङ लगायतले सहजीकरण गरेका थिए ।
यसैगरी राहत सामग्री वितरण कार्यक्रममा बेलायतबाट आरजिएनएसका निबर्तमान अध्यक्ष हरि गोविन्द गुरुङ, संस्थाकै प्रमुख सल्लाहकार तथा गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदका अनरी काउन्सिल मेम्बर मोहन गुरुङ, महासचिव मन्जु भण्डारी, सल्लाहकारहरु श्याम शेरचन, कोने घोताने घोन्डे समाज युकेका अध्यक्ष लेफ्टिनेन्ट चन्द्र गुरुङ ,बेक्स्ली नेपाली समाज युकेका अध्यक्ष बिजय गुरुङ,साउथ इस्ट लन्डन स्थित पशुपति मन्दिरका पुर्व अध्यक्ष बालजंग अर्याल सोसाईटी अफ नेपालीस प्रोफेसनल युकेका अध्यक्ष शेखर वाग्ले, मौजा विजयपुर समाज युकेका अध्यक्ष तथा एनआरएनए युके प्रबक्ता राम कुमार गुरुङ, तमुधी युकेका उपाध्यक्ष हरि गुरुङ, मर्जिङ नेपस्कस युकेको उपाध्यक्ष बिष्णु गैरे लगायतले जुम कन्फ्रेन्समार्फत सम्बोधन गरेका थिए ।
कार्यक्रमको समापन गर्दै संस्थाकी अध्यक्ष शर्मिला हिराचन थकालीले भौतिकरुपमा आफूहरु बेलायत रहे पनि भावनात्मकरुपमा मातृभूमिको माटाे प्रति निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।









