लण्डनको डाक्टर हुँ भन्दै नेपाली युवतीलाई ‘प्रेमजाल’, ४८ लाख ‘डुबे’पछि होस खुल्यो !

काठमाण्डौ ।
सामाजिक सञ्जालले कति व्यक्तिको जीवन सुधारीदिएको छ । कतिले धेरै प्रगति गर्न सफल भएका पनि उदाहरण छन् । तर सञ्जालमा भेटिने मानिसहरुलाइ सजिलै विश्वास गर्दा कुन प्रकारको दुख सम्म पाउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण सिन्धुलीमा घटेको छ । बैंकमा काम गर्ने एक युवती आफुलाइ लण्डनको डाक्टर भनेर बताउने एक ब्यक्तिले लाखौ रकम ठगेका छन् । शुरुमा सामाजिक सञ्जाल इन्टग्राम मार्फत ती युवती र आफुलाइ वेलायतको डाक्टर बताउने मार्क आर्नाेल्ड विच भेट भयो ।

आरोनले आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर हुँ भनेपछि ती युवतीको सामिप्यता बढ्दै गयो । दिन रात,आज भोली हुँदै घनिष्ठता बढ्यो । मार्क आर्नाेल्डले ती युवतीको विश्वास जितिहाले । र नेपाल आएर विहे गर्ने सम्मको योजना पनि बन्यो ।

नेपालमा कोरोना महामारीको कारण लकडाउन शुरु हुने समयमा तिनै ठगले युवतीलाइ औँठी, घडी, सुनका गहना सहित २ लाख ३० हजार पाउण्ड पैसा पठाइदिन लागेको सुनाए । त्यो रकम भारतमा अडकिएको र कर तिरेपछि मात्र नेपाल आउने उनले बताए । करोडौ रकम आउने भनेपछि युवती पनि मख्ख भइन र ती ठगले भनेको कुरा मान्दै गइन् । केही रकम ठगले भने खातामा हालिदिएपछि पैसा आउने कुरा अनुसार युवतीले एक दुइ लाख गर्दै रकम पठाइरहिन् । तर पैसा आएन ।

पैसा पठाउँदै जाँदा युवतीको ४८ लाख ५४ हजार चार सय २० रुपैयाँ ठगले झ्वाम पारिसकेका थिए । तर उनले पाउने भनेको गहना र पैसा आएन । पछि युवतीलाइ फेरी २० लाख पठाए मात्र पैसा आउने भन्दै फोन आएपछि भने उनमा चिसो पस्यो । त्यसपछि उनी प्रहरीको सम्पर्कमा पुगीन् ।

उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीलाई खबर गरिन्। सीआईबीले महानगरीय प्रहरी अपराध महाशाखालाई हेर्न भन्यो। यसपछि प्रहरी र युवती मिलेर भनेअनुसार काम गर्न थाले।

युवतीले बैंकबाट पठाउन मिल्दैन, नेपालमा कुनै एजेन्ट छ भने उसलाई दिन्छु भनिन्। एउटा एजेन्टको नम्बर दिएर राजधानीको एभरेस्ट होटलमा भेट्न भनियो। महाशाखाको टोली एभरेस्ट होटल पुग्यो तर एजेन्ट भेटिएनन्।

ती एजेन्टले सोल्टी होटलमा आउनु भने। प्राविधिक अनुसन्धानबाट सोल्टी होटलमा अंगोलाका नागरिक ४८ वर्षीय सिल्भा एन्टोनियो डे एंगोला पक्राउ परे। आर्नोल्ड र युवतीबीच भएको कुराकानी सिल्भा एन्टोनियो डे एंगोलाको मोबाइलमा भेटियो। प्रहरीले युवतीसँग आर्नोल्डका नाममा कुरा गर्ने व्यक्ति सिल्भा एन्टोनियो डे एंगोला भएको प्रारम्भिक अनुमान गरेको छ। ती व्यक्ति गत फागुन २६ गते नेपाल आएको बताइएको छ।

प्रहरीले ठमेलमा सिल्भा एन्टोनियो डे एंगोला बस्ने कोठा खानतलासी गर्दा तीन लाख १५ हजार सात सय ४५ नेपाली रुपैयाँ, ९ सय अमेरिकि डलर, एक हजार दरका तीन वटा नक्कली नेपाली नोट र केमिकलहरु बरामद भएको दावी गरेको छ।

प्रहरीका अनुसार युवतीले पठाएका पैसा अधिकांश नेपाली व्यक्तिकै खातामा जम्मा भएका थिए र विभिन्न ‘लेयर’पछि गिरोहले नगद पैसा हात पार्ने गरेका थिए।

‘ अरु पनि व्यक्ति यो काममा संलग्न भएको हाम्रो अनुमान छ। थप अनुसन्धान हुँदै छ’, महाशाखाका प्रवक्ता इश्वर कार्कीले भने। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार ललितपुर, बारा, पर्सादेखि अछामसम्मका व्यक्तिको खातामा पैसा जम्मा भएको छ।

‘पैसा जम्मा भएका व्यक्तिसँग कुरा गर्दा उनिहरु आफुले पाउनु पर्ने पैसा जम्मा भएको तर कसको खाताबाट जम्मा भएको थाहा नभएको बताउँछन्’, ती अधिकारी भन्छन्। गिरोहले नेपाली व्यक्तिलाई थाहै नदिई उनिहरुलाई गुमराहमा राखेर ठगी गर्ने गरेको यसअघिका विभिन्न घटनामा पनि देखिने गरेको जनाइएको छ ।