सोनी श्रेष्ठ काभ्रेपलाञ्चोक/ काभ्रेको विकट क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाकी एक गर्भवती महिलालाई हेलिकप्टरबाट उद्दार गरिएको छ ।
यातायात सुविधा राम्रो नभएका कारण काभ्रेको धुलिखेल तथा बनेपास्थित अस्पतालमा ल्याउन कठिन भएपछी महाभारत गाउँपालिकाका प्रमुख कान्छालाल जिम्बाको पहलमा १९ वर्षिय सुनिता थोकरलाई हेलिकप्टरबाट उद्दार गरि प्रसुती गृह थापाथली लगिएको छ ।
गाउँपालिका प्रमुख कान्छालाल जिम्वाले एक लाख रुपियाँमा कैलाश हेलिकप्टर मार्फत महिलाको उद्धार गरिएको बताउनुभयो । महिलालाई सुत्केरी व्यथा लागेपछि परिवारले गोकुले स्वास्थ्यचौकीमा ल्याएका थिए । त्यहाँ उपचार सम्भव नरहेपछि स्वास्थ्यकर्मीले तत्काल उद्धार गर्नु परिवारलाई भनेका थिए ।
त्यसपछि गाउँपालिकाले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार गर्दै आएको समितिसँग समन्वय गरेको थियो तर उसले काभ्रेपलाञ्चोक आउन नमिल्ने बताएपछि निजी हेलिकप्टर बोलाएर गर्भवती महिलाको उद्धार गरिएको गाउँपालिका अध्यक्ष जिम्वाले जानकारी दिनुभयो । उहाँले लगातार पानीका कारण कतै पनि सडक नरहेकाले हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको जानकारी दिनुभयो ।






