सिड्नी । सिड्नीमा एकजना नेपाली विद्यार्थीलाई ठगी मुद्दामा अदालतले १८ महिना कैद सजाय सुनाएको छ । २० वर्षीया ती युवाले ठगी गरेको स्वीकार गरेपछि अदालतले उनलाई १८ महिनाको कैद सुनाएको हो ।
न्यू साउथ वेल्स (एनएसडब्लु) प्रहरीले ती नेपाली विद्यार्थीलाई गत मार्च ३ तारिखमा ठगी आरोपमा पक्राउ गरेको थियो । पक्राउ पश्चातः उनलाई स्थानीय बरउड अदालतमा पेश गरिएको थियो ।
पुर्पक्षका लागी जेलमा रहेका ती विद्यार्थीलाई जेल सजाय भुक्तान गरेपछि नेपाल फर्काउने सम्भावना रहेको छ । दुई वर्षअघि आईटी अध्ययनका लागि उनी अस्ट्रेलिया आएका थिए ।
भारतबाट सञ्चालित ठगहरूको गिरोहमा उनी संलग्न भएको भेटिएको थियो । सर्वसाधारणलाई बैंकको एजेन्ट बनेर कुरा गर्दै कार्डसम्वन्धी समस्या आएको बताउँथे ।
कुराकानीमा उनीहरूले क्रेडिटकार्ड कसैले दुरुपयोग गरेको हुन सक्ने भन्दै समाधानका लागि ती नेपाली युवा घरमा पठाउने गर्दथे । त्यसपछि कार्ड मर्मत गर्ने बाहानामा त्यसमा भएको ब्यालेन्स ती नेपाली युवाले आफ्नो बैंक खातामा पठाउने गर्दथे ।
यसरी ठगी गरेको पैसाको कमिसन राखेर बाँकी पैसा भारतमा रहेका गिरोहलाई पठाउने गरेको अदालतको बयानमा उल्लेख गरिएको छ । यस्तै प्रकृतिको घटनामा दुई हप्ता अघि मात्र एक जोडी नेपाली विद्यार्थी पक्राउ परेका थिए ।






