जाजरकोट । जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विक र पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ सोतीगाउँकी सुष्मा सुधा मल्ल तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । नवराज १७ र सुष्मा १४ वर्षको हुँदा उनीहरूको नजर जुधेको थियो । समयसँगै उनीहरूको उमेर पनि बढ्दै गयो । तर पनि उनीहरूको प्रेममा कुनै कमी आएन । चोखो प्रेमलाई सार्थक बनाउँदै उनीहरू विवाह गर्ने निर्णयसम्म पुगे । तर, विवाहका लागि आफ्ना अभिभावकलाई राजी गराउन दुवै जना सफल भएनन् ।
सुष्माका अभिभावकमा कथित ठूलो जातको घमण्ड थियो । सोही घमण्डकै कारण सुष्माको अभिभावकबाट नवराजले बेलाबेलामा कुटाइ र दुव्र्यवहार भोग्दै आएका थिए । नवराजका बाबुआमाले भने मल्लकी छोरीसँग विवाह गर्न असम्भव भन्दै फकाउने प्रयास गरिरहेका थिए ।
तर, यही जातीय द्वन्द्वको परिणाम नवराज–सुष्मा प्रेमको दुःखान्त अन्त्य मात्र भएन, नवराजको ज्यान नै गयो । नवराजसँगै सुष्मालाई लिन गएका अन्य १८ युवामध्ये दुई जनाको पनि ज्यान गयो । तीन जनाको स्थिति खुलिसकेको छैन ।
गत शनिबार नवराज आफ्ना साथीलाई लिएर सोतीमा प्रेमिका लिन पुगे । तर, सोतीगाउँ पुगेका युवाहरू सुष्मासँग देखभेट हुन नपाउँदै गाउँलेको आक्रमणमा परे । केटीसँग भेट नहुँदै उनीहरूको भागाभाग सुरु भयो । केटीका आफन्तले अन्धाधुन्ध आक्रमण गर्न थालेपछि उनीहरू ज्यान जोगाउन भागे ।
नवराजले ४–५ दिनअगाडि नै साथीहरूसँग सोती जान अनुरोध गरेका थिए । नवराज बाटो लागेदेखि सुष्मासँग नियमित फोनवार्तामा थिए । उनको घरबाट दुई घण्टामा सोती पुगिने भए पनि ४–५ घण्टा पछि मात्र उनीहरूको टोली सोती गाउँ पुगेको थियो ।
‘हामी ५ बजे केटीको घर नजिक पुगेका थियौं । तर, सोती नपुग्दै हामी आएको केटीको घरपरिवारले थाहा पाइसकेका रहेछन् । हाम्रो टोली केटीको घरको ३० मिटर तल पुग्न नपाउँदै उनकी आमा प्रकाशी मल्लले यो डुम किन आयो, अस्तिको चोटले यसलाई पुगेनछ, आज यो डुमको टोलीलाई मार्नैपर्छ भन्दै डुम, कामीलगायत अपशब्द बोल्दै गालीगलौज गर्न थालिन्,’ नवराजको साथी सुदीप खड्काले भने । केटीकी आमाले नवराजलाई नदेख्दै गाली गर्न सुरु गरेको खड्काले बताए ।
‘हामीले नवराजलाई नचिनिने गरी लगेका थियौं । तर, केटीको आमाले एक्कासि गाली गरिन् । गाली गर्न थालेपछि हाम्रो टोली केटीको घरमा नपुगी फर्कियो । हामीले १० मिनेटको बाटो हिँडेर तल नाउला भन्ने ठाउँमा पुगेर पानी मागेर खायौं । हामीलाई नाउलामा रहेका अपरिचित व्यक्तिले बाबुहरू बस्नुहोस्, काफल खानुहोस् भन्दै अलमलाउन थाले । यो षड्यन्त्र हो कि भन्ने लागेर हाम्रो टोली नाउलाबाट ५ मिनेट हिँडेर मध्य पहाडी लोकमार्ग नजिक पुग्न नपाउँदै एक्कासि ६०–७० जनाको समूहमा आएका गाउँलेले ढुंगामुढा बर्साउन थाले । हामी जिउ जोगाउन भाग्दा भाग्दै गाउँलेहरूले चारैतिरबाट घेरा हालेर लखेटी लखेटी ढुंगामुढा, हँसिया, चिर्पटलगायतले कुटपिट गर्न थाले,’ उनले भने ।
उनले गाउँलेहरूले आफूहरूलाई सोतीगाउँदेखि आधा घण्टा टाढा रहेको भेरी नदी किनारसम्म लखेटी लखेटी नवराजलगायतलाई हत्या गरी अन्यलाई घाइते बनाएको बताए । सोतीका गाउँलेहरूले आफूहरूलाई भेरी नदीतर्फ किनाराबाहेकको दिशाबाट उम्कन नपाउने अर्धचन्द्रमाको घेरामा हालेर अन्धाधुन्ध कुटपिट गरेको पनि उनले बताए ।
‘घेरामा परेको हाम्रो टोलीलाई भेरी नदीबाहेक कतैबाट पनि भाग्ने बाटो थिएन । हामीले हात जोडेर प्राणको भीख माग्दा पनि कुटिरहे । हँसिया, चिर्पटलगायतले प्रहार गरिरहे । को बाँच्यो ? को म-यो ? कसैलाई थाहा भएन । घटनास्थलनजिक प्रहरी पनि देखेका थियौं, उनीहरू चुपचाप बसे,’ अर्का घाइते मदन शाहीले भने । आफन्तले केटीलाई फोन गर्न लगाएर नवराजलाई बोलाएको हुन सक्ने मदनले बताए ।
‘पुरै गाउँ उर्लेर आएका थिए । महिला, केटाकेटी सबै थिए । ठकुरीकी छोरी लिन खोज्ने साले डुमहरू भन्दै हामीमाथि कुटपिट भयो,’ उनले भने, ‘घटनामा बाँच्न सफल भएकालाई प्रहरीले लग्यो, मरेकालाई भेरी हाले । आफ्नो ज्यान कसरी जोगाउने भन्ने भयो । अन्य साथीहरूको अवस्था के भयो ? थाहै भएन,’ मदनले भने ।
घटनामा परी मृत्यु भएका तीन जनाको शव भेरीको किनारामा फेला परेको छ । नवराजसहित गणेश बुढा र पश्चिम रुकुम चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव फेला परेको हो । भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही, ४ का सन्दीप विक अझै बेपत्ता छन् ।
मंगलबार मृतकका आफन्तले केटी पक्षका १२ जनाको नाममा जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दर्ता गराएका छन् । घटनाले ठूलो रूप लिएपछि जातीय र क्षेत्रीय रंग दिने प्रयास हुन थालेको अधिकारकर्मीको भनाइ छ ।






