नेपाल कोरोना सङ्क्रमणको उच्च जोखिममा

Nurse holds blood test tube for 2019 nCoV analysis. Chinese Corona Virus Blood Test Concept

काठमाडौँ। नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको सङ्क्रमण यसै महिनाको अन्तिमदेखि साउनको पहिलो सातासम्म उच्च हुन सक्ने भन्दै सतर्कताका लागि आह्वान गरिएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आबद्ध चिकित्सकले असुरक्षित आवागमन र सर्वसाधारणले स्वास्थ्य सतर्कताप्रति गम्भीर नहुँदा कोरोना सङ्क्रमण जोखिम उच्च हुने आँकलन गरिएको बताएका हुन् । सीसीएमसीमा आबद्ध नेपाली सेनाका डा. नवीन फुयालले आगामी साउनको सुरुसम्म कोरोना सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि हँुदै जाने देखिएको बताउनुभयो । परीक्षणको दायरा फराकिलो पारिएको साथै असुरक्षित आवागमनका कारण सङ्क्रमण गुणात्मक रूपमा फैलिन सक्ने बताइएको छ ।

“त्यस्तो अवस्थालाई ‘भयावह’ भन्न त नमिल्ला,’’ उहाँले थप्नुभयो, “महामारी सरकारको नियन्त्रणमै हुने छ । सम्भावित चुनौतीको सामना गर्न आवश्यक कार्ययोजना र तयारीका सम्बन्धमा सरकारलाई सुझावसमेत पेस गरिसकेको छ ।” चिकित्सकको अध्ययनले साउनसम्ममा कोरोना सङ्क्रमण उच्च तहमा पुग्ने अनुमान गरेको छ । महामारीलाई सरकारको नियन्त्रणबाहिर जान नदिन अहिलेदेखि नै उच्च तयारी अपनाउनुपर्ने अवस्था सिर्जना भएको सेनाले जनाएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा बुधबार समसामयिक विषयमा आयोजित पत्रकार सम्मेलनमा डा. फुयालले अनावश्यक पीसीआर परीक्षण रोक्नसमेत सुझाव दिएको बताउनुभयो । सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका र लक्षण देखिएकाको मात्र पीसीआर परीक्षण गर्नुपर्ने अवस्था आएको छ । अनावश्यक परीक्षणले किट खर्च हुनुका साथै परीक्षणमा चाप बढेको भनाइ स्वास्थ्यकर्मीको छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।