बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो

लन्डन। चीनको वुहानबाट निस्किएको कोरोना भाइरस (कोभिड–१९)को महामारी अहिले समग्र विश्वभर फैलिएको छ । यो भाइरसका कारण अहिलेसम्म बेलायतमा मृत्यु हुनेको कुल संख्या २६ हजार नाघेको छ ।बेलायत सरकारले पहिलोपटक केयरहोम लगायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्यालाई सार्वजनिक गरेको हो ।

‘पब्लिक हेल्थ इंग्ल्याण्ड’ बाट जारी तथ्यांकअनुसार मार्चको शुरुदेखि हालसम्म बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या २६ हजार ९७ पुगेको छ ।  पछिल्लो तथ्याँक अनुसार बढी मृत्यु हुने मुलुकहरुमध्ये बेलायत अमेरिका र इटालीपछिको तेस्रो स्थानमा परेको छ।

यसै बीच लण्डनस्थित नेपाली दूतावासका अनुसार बुधबारसम्म बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ३४ पुगिसकेका छन् । जनसमध्ये २७ जना भूतपूर्व गोर्खा र उनीहरुकै परिवारका सदस्य रहेका छन् ।बेलायतमा अहिलेसम्म कुल १ लाख ६५ हजार २ सय २१ जनामा कोरोना संक्रमण भेटिएको छ ।

यसै गरि विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३२ लाख २० हजार ८ सय ३० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख २८ हजार २ सय २९ जनाको मृत्यु भइसकेको छ । भने १० लाख ९ सय ८३ जना निको भएर घर फर्किसकेका छन् ।

यो समाचार तयार पार्ने समय सम्ममा कोरोनाबाट सबैभन्दा बढि अमेरिका प्रभाबित भएको छ । अमेरीकामा ६१ हजार ६ सय ६९ जनाको मृत्यु भइसकेको छ ।  भने १० लाख ६४ हजार ५ सय ५७ संक्रमित पुष्ट्रि भएका छन् ।