तक्दीर अधिकारी
सिड्नी । कोभिड–१९ ले अस्ट्रेलियामा समस्यामा परेका नेपाली बिद्यार्थीलाई फुड बैंक अस्ट्रेलियाले खाद्यन्न सहयोग उपलब्ध गराएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) का प्रवक्ता नन्द गुरुङले उपलब्ध गराएको जानकारी अनुसार फुड बैंक अस्ट्रेलियाले ३ सय बक्स खाद्यन्न उपलब्ध गराएको हो । एक जनाको लागि अनुमानित एक महिनासम्म पुग्ने खाद्यन्न बक्स फुड बैंक अस्ट्रेलियाले एनआरएनए मार्फत् समस्यामा रहेका नेपालीलाई उपलब्ध गराएको हो ।

एनआरएनए अस्ट्रेलिया प्रवक्ता नन्द गुरुङले भने, समस्यामा रहेका नेपाली बिद्यार्थीलाई सहयोग गर्ने रेडक्रसजस्तै अन्य संस्थाको खोजीमा थियौं, फ्रेन्ड्स अफ अस्ट्रेलिया (फोना) का पे्रसिडेन्ट अमितजंग थापासँग कुरा भयो, उनैमार्फत् फुड बैंक अस्ट्रेलियाले सहयोग उपलब्ध गराएको हो, ‘ प्राप्त भएको खाद्यन्न बक्स सहयोग स्टेट कोअर्डिनेट कमिटी लाई वितरणको लागि हस्तान्तरन गरिने छ ।

न्यू साउथ वेल्स राज्यमा ८ सयभन्दा बढीले सहयोग लिएको जानकारी दिँदै प्रवक्ता गुरुङले भने, ‘नेपाली संघसंस्थाबाहेक भारतीय समुदायबाट पनि सहयोग प्राप्त भएको छ । त्यसबाहेक नेपालीहरुलाई सहयोग उपलब्ध गराउने फुड बैंक अस्ट्रेलिया पहिलो संस्था हो ।’
एनआरएनले तयार पारेको मापदण्डअनुसार नै राहत वितरण भइरहेको उनले बताए । कतिपयले दोस्रो चरणको राहत प्राप्त गरिसकेका छन् । दुई साता पुगेकाले दोस्रो पटक राहत लिएका हुन् । पहिलै तय भएको मापदण्डअनुसार नै राहत वितरण गरिएको छ । अहिलेसम्म ८ सय नेपालीलाई राहत वितरण गरिएको छ । जतिले सहयोग आवश्यकताका लागि अनलाइन फर्म भरेका छन् उनीहरु सबैलाई राहत उपलब्ध गराउने तयारी भइरहेको प्रवक्ता गुरुङले बताए ।

फ्रेन्ड्स अफ अस्ट्रेलिया (फोना) का पे्रसिडेन्ट अमितजंग थापा भने ‘ एनआरएनए अस्ट्रेलियाले नेपाली बिद्यार्थीहरु लाई गरेको रहत वितरण नेपाली श्रोतबाट मात्र थियो, म गैर-नेपाली श्रोतको खोजिमा थिये त्यसै क्रममा फुड बैंक अस्ट्रेलियाको कार्यकारी निर्देशक ब्रियना सँग कुरा भयो उनले हाम्रो प्रस्ताब स्विकार गरीन र यो खाद्यन्न बक्स सहयोग भएको हो । आबस्यक परेमा फुड बैंकले यो सहयोग अन्य स्टेट हरुमा पनि उपलब्ध गराउने सम्भावना रहेको छ ’।






