बेलायतमा कोरोनाको त्रास: जोखिमबाट बच्न घरभित्र बस्न आग्रह !

लन्डन। आज आइतबार बेलायतमा आमाको मुख हेर्ने दिन। तर बेलायती प्रधानमंत्री बोरिस जोनसनले सकभर आफ्ना मातापितालाइ भेट्न नजान र फोन, भिडियो कल वा स्काइपमा कुरा गर्न सुझाव दिएका छन् । वृद्ध वृद्धालाई कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै उनले त्यस्तो आग्रह गरेका हुन् ।

एक संदेशमा उनले बेलायतको स्थितिलाइ इटालीसंग तुलना गर्दे बेलायतमा पनि कोरोना भाइरसबाट संक्रमितहरुको संख्या तीब्र गतिमा बढी रहेको बताए । बेलायतमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ५,००० नाघेको पुष्टि भएको छ । कोरोना संक्रमणका कारण अहिलेसम्म कम्तिमा १४० जनाको मृत्यु भइ सकेको ब्रिटिश अधिकारीहरुले पुष्टि गरेका छन् ।

ती मध्ये एक भूतपूर्व गोर्खा सैनिक पनि छन् । ब्रिटिश सरकारले शुक्रबार रातीदेखि नै रेस्टुरेन्ट तथा पबहरु बन्द गर्न आदेश दिएको छ । यसले गर्दा नोक्सानमा पर्ने व्यवसायहरु तथा जागिर गुमाउने मानिसहरुलाइ सहयोग गर्ने योजना पनि सरकारले ल्याएको छ । लन्डनका मेयर सदिक खानले अत्यावश्यक क्षेत्रमा काम गर्ने बाहेक अन्य क्षेत्रमा काम गर्न मानिसहरुलाइ काममा नजान र घर बाटै काम गर्न भनेका छन् । “तपाईंले यी निर्देशनहरुको पालना गर्नु भएन भने अरु कैयौं मानिसको ज्यान जान सक्नेछ,” मेयर खानले भने । अधिकारीहरुले खाद्यान्न लगायतका सामान किनेर अनावश्यक भण्डार नगर्न पनि अपिल गरेका छन् ।

लन्डन नेपालन्युजसंग कुरा गर्दै वरिष्ठ चिकित्सक डा. राघव प्रसाद धितालले बेलायतको स्वास्थ्य क्षेत्रमा कम गरेका ४० वर्ष भन्दा बढी अवधिमा यस्तो अवस्था पहिलो पटक व्यहोरेको बताउनु भयो । सजग रहौ, आफ्नो सरसफाईमा ध्यान दिउँ, नियमित रुपमा साबुन पानि ले हात धुने गरौं, सकभर घर बाहिर नजनोस, डा. धितालले भन्नु भयो । उहाँले आफ्ना छिमेकीहरु र वृद्ध वृद्धाहरुलाइ फोन गरेर उनीहरुको हालखबर बुझ्दै गर्न पनि आग्रह गर्नु भयो ।