अनु लामा
सिड्नी । अस्ट्रेलियामा रहेका शेर्पा समुदायले गत आइतबार ग्याल्पो ल्होसार भव्यरुपमा मनाए । रकडेलको इन्द्रेणी फङसन सेन्टरमा मार्च ८ आइतबार ५ बजे को पूजाबाट शुरुभएको कार्यक्रममा शेर्पा स्वागत गीतले पाहुनालाई सत्कार गर्दै पाहुनालाई खाँदा लगाइएको थियो ।
शेर्पा एसोसिएसन अफ न्यू साउथ वेल्सका अध्यक्ष कर्मा शेर्पाले शेर्पा भाषामा स्वागत मन्तव्य राखेका थिए । शेर्पा भाषामा उनले दिएको स्वागत भाषणले कार्यक्रमलाई निकै रोचक बनाएको थियो । उनले ग्याल्पो ल्होसारका बारेमा जानकारी गराउँदै नयाँ पुस्ताले हाम्रो संस्कृतिलाई कसरी संरक्षण गर्नुपर्छ भन्ने कुरा उल्लेख गरेका थिए । नयाँ पुस्तालाई शेर्पा संस्कृति हस्तान्तरण गर्दै जाने र शेर्पा समुदायको चाँडमा भेला भएर पर्व मनाउने उद्देश्यले प्रवाशमा पनि ग्ल्यामो ल्होसार मनाउने परम्परा बसालिएको अध्यक्ष शेर्पाले बताए ।
अस्ट्रेलियन हिमालय फान्डेसनका अध्यक्ष साइमन्ड बालडस्टोनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष साइमन्डले हिमालय फान्डेसनले नेपालका हिमाली क्षेत्रमा पुगेर शिक्षाको क्षेत्रमा दिएको योगदान बारेमा चर्चा गरे।
यस्तै कार्यक्रममा निम्फाका अध्यक्ष अरुण कुमार तमाङले शेर्पा एसोसिएसन अफ न्यू साउथ वेल्सका कार्यक्रमको चर्चा गरेका थिए । शेर्पा सस्कृति झल्कने कार्यक्रम सम्पन्न भएपछि अनौपचारिक कार्यक्रम पुरस्कार वितरण तथा अन्य विविध कार्यक्रममा खानाको परिकार र भेषभूषाको प्रस्तुति रहेको थियो । कार्यक्रमलाई स्थानीय कलाकारले सांगीतिक माहोल बनाएका थिए । 








