लन्डन ।११० औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा एनआरएनए यूके महिला फोरमले महिला सशक्तिकरण सम्बन्धि एक सेमिनार सम्पन्न गरेको छ।
एनआरएनए यूके महिला फोरमले नेपाली महिलाहरुले समानता प्राप्त गर्न निकै काम गर्न बांकी रहेको विज्ञहरुले जनाएका छन्। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके महिला फोरमको आयोजनामा आइतबार लन्डन इस्टकोटस्थित ‘भेन्यू फाइभ रेष्टुरेन्ट’ हलमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले त्यस्तो जनाएका हुन्।
हाल लिबियामा कार्यरत समाजशास्त्री डा. मीना पौडेलले नेपालको महिला आन्दोलन साहना प्रधान र मंगला देवी सिंहको पालाबाट अगाडी नबढेको बताइन् । “पांच दशक बिति सक्यो, राजनैतिक व्यवस्थाहरु परिवर्तन भए तर महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन, हाम्रो राजनीतिक प्रक्रिया सही दिशामा अगाडी बढीरहेको छैन, “ उनले भनिन् ।
नेपाली समुदाय तथा परिवारले विदेश गएर महिलाले कमाएर पठाएको पैसा स्वीकार गरेको तर महिलालाई भने स्वीकार नगरेको डा. पौडेलले बताइन् । उनले बजार र मिडियाले महिलालाई हेर्ने दृष्टिकोण निर्माण गरिरहेको बताउंदै कानूनले भन्दा पनि संस्कारले समाज र परिवारमा महिलाको स्थान निर्धारण गरेको बताइन्। लन्डन स्कुल अफ इकोनोमिक्सकी भिजिटिंग फेलो डा. पुनम यादवले घुम्टो हालेर हिड्ने तराई मधेसका महिलाहरु अहिले सेना तथा प्रहरीमा भर्ति भैरहेको र समाजले पनि त्यसलाई स्वीकार गरेको बताइन्। उनले धेरैजसो स्थानीय निकायमा उपाध्यक्ष वा उपप्रमुख महिला भए पनि उनीहरुले आफ्नो ठाउँबाट सकारात्मक योगदान गरिरहेको बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन युकेकी अध्यक्ष पूनम गुरुङले अन्तर्राष्ट्रिय महिला दिवस सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा महिलाहरुले प्राप्त गरेका उपलब्धिहरु पहिचान गर्ने तथा गर्व गर्ने अवसर भएको बताइन्। । उनले एनआरएनए युकेको पहिलो महिला अध्यक्षको रुपमा महिला समानताको क्षेत्रमा काम गर्न आफु प्रतिबद्ध रहेको पनि बताइन् । “हाम्रो प्रयास आजै सकिदैन, वर्ष भरि नै जारि रहनु पर्छ,” उनले भनिन् । कार्यक्रमका प्रमुख अतिथि तथा लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव लव सुवेदीले प्रत्येक दिनलाई महिला दिवसको रुपमा मनाउन सुझाव दिए । हिजो हाम्रा आमा, हजुरआमाहरुले कसरि जीवन व्यतित गर्नु भएको थियो, आज हामी कुन अवस्थामा छौं र भावी पुस्तालाई भेदभावमुक्त समाज हस्तान्तरण गर्न के गर्नु पर्छ भन्ने बारे हामी सचेत रहनु पर्छ। उनले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबै दिदी बहिनीहरुलाई बधाई पनि दिए।
कार्यक्रममा लिभरपूल जोन मुर्स विश्वविद्यालयकी सहप्राध्यापक डा सारा पार्कर तथा सिवानी घलेले प्रश्तुति गरेका थिए। त्यस्तै गत वर्ष काठमाडौँमा सम्पन्न दक्षिण एसियाली खेलमा पौडीमा चार ओटा स्वर्ण पदक जित्न सफल खेलाडी गौरिका सिंहले सबै महिलालाई सम्मान गर्न आग्रह गरिन्। “फेमिनिज्म भनेको महिला तथा पुरुष बीच समानता हो, पुरुष लाई अवहेलना गर्नु होइन । हामी सबैको अधिकार समान छ, हामी हरुले एक अर्का लाई सम्मान गर्नु पर्छ,” उनले भनिन। उनले हात मिलाउनुको सट्टा नमस्कार गर्न पनि आग्रह गरिन्।
कार्यक्रम सन्चालन लारा राई तथा प्यानल डिसकसनको मध्यस्तता विमला सेने र प्रसुना कंडेलले गरेका थिए । निशा गुरुङले प्रमुख बक्ताहरुको परिचय दिएकी थिइन् ।सो अवसरमा महिला हिंसाबारे अमृता गिरी गजुरेल, सुश्मिता थापा, बन्दना केसीले प्रस्तुति दिए ।
पत्रकार भगीरथ योगी तथा ब्लगर लेक्स लिम्बुले कार्यक्रममा छलफल भएका विषयहरुको निस्कर्ष सुनाएका थिए । कार्यक्रममा एनआरएनए युकेकी महिला संयोजक प्रसुना कंडेलले नेपाली महिलाका समस्या पहिचान र समाधानको बाटो पहिल्याउन सेमिनार महत्वपूर्ण रहेको बताउदै उपस्थित सबैलाई धन्यवाद दिएकी थिइन् ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।














