तक्दीर अधिकारी
क्यानवेरा । अस्ट्रेलियाको राजधानी क्यानवेरामा बहुसांस्कृतिक उत्सव सम्पन्न भयो । उक्त उत्सवमा नेपालले पनि सहभागिता जनाएको थियो । तीन दिनसम्म मनाइने यो उत्सवमा नेपालको बेग्लै सान देखिन्थ्यो । नेपाली दूतावास क्यानवेराका उपनियोग प्रमुख दुरपदा सापकोटाले दिएको जानकारी अनुसार यो बहुसांस्कृति उत्सव अस्ट्रेलियन क्यापिटल टेरोटोरी (एसीटी) ले प्रत्येक वर्ष आयोजना गर्छ । यो उत्सवमा नेपाल दोस्रो पटक सहभागी भएको हो ।

उपनियोग प्रमुख सापकोटाले भनिन, ‘यो महोत्सवमा नेपालले स्टल राखेको थियो, त्यो स्टलबाट हामीले भिजिट नेपाल– २०२० र नेपाली सामाग्रीको प्रवद्र्धन ग-यौं । खासगरी नेपालको भेषभूषा र कलासंस्कृतिको प्रवद्र्धन हामीले महोत्सवमा प्रस्तुत गरेका थियौं ।
महोत्सवमा बहुसांस्कृतिक परेड थियो, त्यो पनि यही फेस्टिबलकै एउटा पाटो हो । नेपाली दूतावासको अग्रसरतामा गैरआवासीय नेपाली संघ, विभिन्न सामाजिक संघसंस्थाका अगुवालगायत लगभग ३ सयभन्दा बढी परेडमा सहभागी थिए । त्यसमा सबैले आ–आफ्नो भेषभूषा लगाएका थिए । परेडमा नेपालको विविध संस्कृति झल्किने नेवारी, तामाङ, शेर्पा र अन्य पोषाकहरु लगाएका थिए । उपनियोग प्रमुख सापकोटाले भनिन, ‘परेडमा हामीले कुमारी र लाखे नाँच पनि प्रदर्शन गरेका थियौं । त्यहाँ बाटोको दुवै किनारामा हजारौं हेर्ने मान्छेले हाम्रो परेड एकदमै मन पराएका थिए ।’

नेपाली दूतावासले राखेको स्टलमा पनि धेरै दर्शकले अवलोकन गरे । झन्डै हजारभन्दा बढीले नेपालको स्टलको अवलोकन गरे । सापकोटाले भनिन्, ‘हामीले भिजिट नेपालको ट्याग बाँड्यौं । कुमारी र लाखे नाँच सिड्नीबाट ल्याइएको हो । गुठीका शिवजी श्रेष्ठले सहयोग गर्नुभएको थियो । मेलवर्नबाट कन्दरा व्यान्डका विवेक श्रेष्ठ आउनुभएको थियो ।’
गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा क्यानवेरा संयोजक चुडामणि सापकोटाका अनुसार नेपालको सहभागिता उत्साहजनक थियो । धेरैले नेपालको परेड मन पराएका थिए । तयारी त्यत्ति व्यापक हुन पाएको थिएन, यद्यपि नेपालको परेड र स्टललाई धेरैले मन पराएका थिए । सहभागी सबैको हातमा नेपाली झन्डा देखिन्थ्यो । मौलिक गीत गाउँदै अगाडि बढेको नेपाली परेड देख्दा दर्शकले ऊत्साहीत भएर हेरेका थिए ।

क्यानवेरामा बहुसांस्कृतिक उत्सव प्रत्येक वर्ष आयोजना हुन्छ, अस्ट्रिेलियन टेरोटोरी (एसीटी)ले आयोजना गरेको हो । कार्यक्रममा धेरै देशको प्रतिनिधित्व हुन्छ । सबै संस्कृतिका खानाको स्टल हुन्छ । ४–५ वटा स्टेज हुन्छन्, त्यहाँ नेपालीले पनि आफ्नो कला संस्कृति प्रस्तुत गरेका थिए । संयोजक सापकोटाका अनुसार पूरै कार्यक्रम तीन दिनको हो, शुक्रबार, शनिबार र आइतबारसम्म हो । परेड चाहिँ शनिबार मात्र हुन्छ, परेडमा अष्ट्रेलियामा कूटनीतिक नियोग भएका एसीटी गर्भमेन्टले परेड गर्न अनुमति दिन्छ । हाम्रो पनि दूतावासमार्फत कार्यक्रम आयोजना प्रतेक बर्ष हुन्छ । यसपटक भिजिट नेपाललाई प्रमोशन गर्ने हिसाबले कार्यक्रममा सक्रिय रुपमा सहभागी भयौं ।आगामी बर्षहरुमा यस् लाई झन भब्य र प्रभाबकारी बनाएरा लैजाने (गैरआवासीय नेपाली संघ) एन आर एन ए एस सी सी एसीटी को योजना रहेको छ । ‘

( तस्बिर साभार् नेपाली दूतावास)






