तक्दीर अधिकारी
सिड्नी । नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्ष गाँठको अवसरमा आयोजित कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । अस्ट्रेलियाको पार्लियामेन्ट् हाउसमा सोमबार साँझ आयोजित कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल र दूतावासका प्रतिनिधिहरुले आगन्तुक पाहुनाहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा राजदूत दाहालकी पत्नी प्रभा दाहाल समेत सहभागि थिइन् ।
दूतावासकी उपनियोग प्रमुख दुरपदा सापकोटाले सञ्चालन गरेको कार्यक्रमको सुरुमा नेपाल र अस्ट्रेलियाबीचको सुमधुर सन्बन्ध झल्काउने वृत्तचित्र देखाइएको थियो । उक्त्त वृत्तचित्रमा गोर्खा र अष्ट्रेलियन आर्मीले पुर्याएको सयुक्त योदानको बारेमा चर्चा गरिएको थियो ।
आगन्तुक पाहुनाको स्वागत गर्दै राजदूत दाहालले मन्तव्य राखेका थिए । उनले अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको कार्यक्रम आयोजना गर्न पाउँदा निक्कै खुशी लागेको बताए । उनले भने, ‘नेपालमा भूकम्प जाँदा अस्ट्रेलियाले जसरी सहयोग गर्यो , त्यसरी नै अस्ट्रेलियामा विपद आइपर्दा नेपालीले सहयोग गरेका छन् । एकआपसमा सहयोग आदान प्रदान गर्दै दुई देशबीचको सम्बन्ध अघि बढिरहेको छ । नेपाली डाक्टर र इन्जिनियरले पनि अस्ट्रेलियामा धेरै सहयोग पु-याइरहेका छन् । विज्ञहरुले दुवै देशका जनताका लागि काम गरिरहेका छन् । यस्तो काम गर्नेहरुलाई हामीले सधैं प्रेरित गर्नुपर्छ । दुई देशबीचको सहयोग आदान प्रदान अझै वृद्धि गर्नुपर्ने अहिलेको आवश्यकता रहेको राजदूत दाहालले औंल्याए ।

उक्त वर्ष गाँठको अवसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पठाएको भिडियो सन्देश पनि देखाइएको थियो । यस्तै अष्ट्रेलियाको परराष्ट्रमन्त्रालयको तर्फ बाट डिपुटी सेक्रेटरी एली लोसनले नेपाल र अस्ट्रेलियाबीचको मित्रताबारे बोलेकी थिइन् ।
फ्रेड होलो फाउन्डेसनबाट ब्रान्ड एन्ड कम्युनिकेसन डिरेक्टर एलिसन हिलले नेपाली प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइतसँग मिलेर फ्रेडले नेपालमा मोती बिन्दु को सर्जेरीमा उल्लेखनिय योगदानको स्मरण गरिन । उनले भनिन्, ‘तिलगंगा आँखा हस्पिटल स्थापना गर्ने काममा सहयोग फाउन्डेसनले गरेको हाल पनि निरन्तर सहयोग गरी रहेको छ । यो कामलाई अझ व्यापक बनाउन कूटनीतिज्ञहरुको साथ र सहयोगको आशा गरेका छौं ।’
सोही अबसरमा नेपाल -अस्ट्रेलिया पार्लियामेन्ट्री फ्रेन्ड्सिप समुहको पुनर गठन भएको जानकारी दिइएको थियो । पिटर खलील र राजदूत दाहालले संयुक्तरुपमा केक काटेर समुह पुनर्गठन भएको सन्देश दिएका थिए । उक्त समुहको सहअध्यक्षमा द्वय सांसद पिटर खलील र सिनेटर एन्ड्रयु बारग रहेका छन ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष मन केसी, ओसियाना कोअर्डिनेटर होम पाण्डे, एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद्का संयोजक देव गुरुङ, महावाणिज्यदूत दीपक खड्का,ईन्द्रा बान, पूर्ण घिमिरे, डिल्ली ढकाल,मेलवर्नबाट डा. कुमुद धिताल, ब्रिस्बन बाट डा. भरत पौडेल लगायतको उपस्थिति थियो ।







