ऐतिहासिक पारमाणविक सम्झौताको तेहरानमा प्रशंसा

तेहरान, २० चैत । इरानका पारमाणविक वार्ताकार विश्वका शक्ति मुलुकसँग सम्भावित ऐतिहासिक संरचनागत सम्झौतामा पुगी तेहरान फर्कदा शुक्रबार उहाँहरूका समर्थकहरूले स्वागत गरेका छन् भने इजरायलले यो निकै डरलाग्दो पाइला भएको चेतावनी दिएको छ ।
इजरायली प्रधानमन्त्री नेतान्याहुले यस विषयमा इजरायली प्रतिक्रिया तयार गर्न सुरक्षा प्रमुखहरूको बैठक बोलाउनुभएको छ भने इरानी जनता आफ्ना सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको प्रतिक्रिया सुन्न प्रतिक्षारत छन् ।
इरान तथा विश्वका प्रमुख छ शक्ति मुलुकबीच इरानको पारमाणविक प्रयास रोक्ने उद्देश्यले बिहीबार एक सम्झौताको संरचनामा सहमति भएको छ । यसलाई इरान तथा पश्चिमी मुलुकबीच गत १२ वर्षसम्म कायम अवरोध हटाउन प्रमुख सफलताको रूपमा लिइएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले इस्लामिक गणतन्त्रसँग ऐतिहासिक सहमति भएकोमा स्वागत गर्नुभएको छ । अमेरिकाको यस मुलुकसँग दशकौँदेखि शत्रुता रहेको थियो । उहाँले अन्य नेताहरूले झैँ जुन ३० सम्म अति नै जटिल सम्झौता गर्न बाँकी रहेको बताउनुभएको छ ।
इरानमाथि उसको पारमाणविक महत्वाकाँक्षाका कारण लगाइएको प्रतिबन्धले अर्थतन्त्रलाई प्रभावित बनाएको छ भने धेरै यसबाट प्रभावित भएका छन् । यहाँ हर्षको परिस्थिति देखिएको छ । सहमतिको घोषणा भएपछि तेहरानका सडकमा सयौँ इरानी जनता खुसीले उत्रिएका थिए भने चालकहरूले राजधानीको सबैभन्दा लामो सडक भाल–ए–अस्र एभेन्युमा हर्न बजाएर यस सम्झौताको स्वागत गरेका थिए ।
स्विजरल्यान्डको लुजान नगरमा वार्तापछि तेहरान आइपुग्दा इरानी विदेशमन्त्री मोहमद जाभेद जरिफ तथा उहाँका समूहलाई विमानस्थलमा शुभेच्छुकले स्वागत गरे । विमानस्थलमा विदेशमन्त्री जरिफले सर्वोच्च नेता खामेनीले वार्ता टोलीलाई दिनुभएको समर्थन तथा निर्देशनका लागि धन्यवाद दिनुभएको आधिकारिक इर्ना समाचार संस्थाले उल्लेख गरेको छ ।
उहाँले हालसम्म सम्झौता अन्तिम अवस्थामा नपुगेको र अन्तिम दस्तावेज तयार गर्ने अधार तय भएको बताउनुभयो । जरिफ विमानस्थलबाट घर फर्कदा धेरैले उहाँलाई स्वागत गरेका थिए र उनीहरूले इरानी झण्डा बोकेका थिए । यस विषयमा सर्वोच्च नेता खामेनीको भनाइ अन्तिम मानिन्छ । यस सम्झौतामा इरानको पारमाणविक कार्यक्रम कटौती गर्ने र इरानमाथि लगाइएको प्रतिबन्ध हटाउने व्यवस्था गरिएको छ ।
इरानको प्रतिद्वन्द्वी इजरायलले यस सम्झौतालाई ऐतहासिक गल्तीको सङ्ज्ञा दिएको छ । उसले यसले यहुदी राज्यको अस्तित्वमै चुनौती आउने बताएको छ । इजरायलसँगै पारमाणविक हतियार छ भन्ने व्यापक विश्वास गरिन्छ । इजरायली सरकारका प्रवक्ता मार्क रेगेभले पत्रकारहरूलाई यो संरचना निकै डरलाग्दो दिशातर्फ लक्षित रहेको र इरानको एक मात्र लक्ष्य पारमाणविक बम बनाउनु रहेको बताउनुभयो ।
प्रधानमन्त्री नेतान्याहुले आफ्नो सुरक्षापरिषद्, मन्त्री तथा इजरायली सुरक्षाका सेवाका वरिष्ठ अधिकारीहरूको बैठक बोलाउनुभएको जानकारी स्थानीय आमसञ्चारले दिएका छन् । इजरायलले पटकपटक पारमाणविक हतियारयुक्त इरानले चेतावनी दिएमा सैनिक कारवाही गर्ने चेतावनी दिएको छ तर विश्लेषकहरूले यस्तो आक्रमणको सम्भावना नभएको बताएका छन् । इरानी राष्ट्रपति हसन रुहानीले पूर्ण सम्झौता लेखनकार्य बिहीबारको घोषणापछि नै हुने बताउनुभएको छ ।
यस सम्झौताको संरचना अनुसार संयुक्त राष्ट्र सङ्घको पारमाणविक संस्थाले तेहरानको भण्डार उसको समझौता अनुसार भएको सत्यापन गरेपछि अमेरिका तथा युरोपेली युनियनले तेहरानमाथि पारमाणविक हतियार क्षमताका विषयमा लगाएको प्रतिबन्ध हटाउनेछन् ।
यसै गरी विगतमा संयुक्त राष्ट्र सङ्घले इरानको पारमाणविक हतियार क्षमताका विषयमा गरेका निर्णय पनि हटाउनेछ । प्रस्तावित सीमाअनुसार इरानको उच्च रूपमा प्रशोधित युरेनियम आउँदो १५ वर्ष सम्म ९८ प्रतिशतले कटौती हुनेछ । यसै गरी हाल निर्माणाधिन अरक संयन्त्रमा पारमाणविक हतियारका लागि प्रयोग हुने प्लुटोनियम उत्पादन हुनेछैन । यसै गरी इरानमा हाल १९ हजार युरेनियम सेन्ट्रिफ्युज रहेकोमा केबल ६ हजार १०४ मात्र यस्ता संयन्त्र रहनेछन् । यस संयन्त्रले पारमाणविक ऊर्जाका लागि इन्धन तयार गर्नसक्छ भने त्यसलाई पारमाणविक बममा पनि राख्न सकिन्छ ।
‘पी फाइब प्लस वन’ समूहमा अमेरिका, बेलायत, चीन, फ्रान्स, रसिया तथा जर्मनी रहेका छन् । उनीहरूले यस सम्झौता अनुसार इरानलाई पारमाणविक हतियार बनाउनु असम्भव हुने ठानेका छन् । विश्वको प्रमुख तेल उत्पादक मुलुक इरानले सँधै आफूले आणविक बम बनाउन नचाहेको दाबी गरेको छ । उसले आफ्नो क्रियाकलाप ऊर्जा उत्पादन तथा अनुसन्धानका लागि भएको दाबी गरेको छ ।
वार्ताको समयमा फ्रान्सले कडा अडान लिएको थियो र उसले तेहरानले आफ्नो भनाइ पालना नगरे ऊमाथि पुनः प्रतिबन्ध लगाउन सकिने बताएको छ । जर्मनीका चान्सलर एङ्गेला मर्केलले इरानलाई पारमाणविक हतियार प्राप्त गर्न नदिन अन्तर्राष्ट्रिय समुदाय यस अघि कहिल्यै सम्झौताको यति नजिक नपुगेको बताउनुभएको छ ।
इरानको पारमाणविक ऊर्जा संयन्त्र बनाएको रसियाले इरानको नागरिक पारमाणविक कार्यक्रम सञ्चालन गर्ने निसर्त अधिकार भएको दाबी गरेको छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि मुनले यस समझौताले यस क्षेत्रमा शान्ति तथा स्थायित्वका लागि योगदान दिनसक्ने बताउनुभयो । यस सम्झौताको सफल कायान्वयन भएमा अमेरिका तथा इरानबीच सन् १९७९ देखि १९८१ सम्मको बन्धक सङ्कटपछि ३५ वर्षसम्म वैरभावपछि राम्रो सम्बन्ध स्थापना हुनसक्ने अनुमान गरिएको छ ।
हाल अमेरिकी राष्ट्रपति ओबामालाई संसदलाई मनाउनसक्ने सम्झौताको आवश्यकता छ । संसदले इरानको बचनबद्धतामा आशङ्का व्यक्त गरेको छ र उनीहरूले अप्रिल १४ पछि नयाँ प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।