तक्दीर अधिकारी
सिड्नी । साउथ वेस्ट नेपाली कम्युनिटीले न्यू साउथ वेल्सको साउथन हाइल्याण्डमा भएको आगलागीका पीडितलाई सहयोग उपलब्ध गराएको छ । कम्युनिटीले हिजो शुक्रबार १ सय ८० अग्नि नियन्त्रक, अग्नि पीडित र स्वयसेवकलाई साँझको खाना उपलब्ध गराएको हो । उक्त आगलानीमा परेर दुईजना अग्नि नियन्त्रकको निधन भएको थियो ।
सम्पूर्ण खाना संकटकालीन साउथन हाइल्याण्डको कार्यदललाई उपलब्ध गराइएको थियो । कार्यदलले उक्त खाना अग्नि नियन्त्रक र अग्नि प्रभावित रहेको शिविरमा लगेर वितरण गरेको थियो । न्यू साउथ वेल्सका साउथ हाइल्यान्ड क्षेत्रबाट प्रतिनिधित्व गर्ने माथिल्लो सदनका सांसद लुइस आमाटो र सांसद तथा स्थानीय कार्यदलका सदस्य नाथानिल स्मिथका साथै र अग्नि नियन्त्रक कार्यदलसँग समन्वय गरेर खाना उपलब्ध गराएको कम्युनिटीका अध्यक्ष डा. देवेन्द्र सापकोटाले जानकारी दिए ।

सांसदद्वयले नेपाली कम्युनिटीको यो साह्रनीय काम भनेर खुलेर प्रशंसा गरेका थिए । उनीहरुले सहयोगका लागि नेपाली कम्युनिटीलाई धन्यवाद भनेका थिए । खाना तयार र वितरण गर्न कम्युनिटीका प्रबक्त्ता सूर्य खनाल लगायत अन्य सद्स्यहरु मीनराज भुषाल, विष्णु केसी, भुपाल सिटौला, प्रेम शाह, देवकुमारी तामाङ र यमकला रानाले सहयोग गरेको अध्यक्ष डा. सापकोटाले जानकारी दिए ।अग्नि पीडितलाई हामी केही सहयोग गर्न चाहन्छौं भनेपछि संकटकाल कार्यदलले कम्युनिटीको आग्रहलाई स्वीकार गरेको अध्यक्ष डा. सापकोटाले बताए । संकट परेका बेला संलग्न भएर सहयोग गर्न पाएकोमा आफूलगायत साउथ वेस्ट नेपाली कम्युनिटी अभारी रहेको बताउँदै अध्यक्ष डा. सापकोटाले भने, कुनै पनि कम्युनिटीलाई आवश्यक परेका बेला यस्ता कार्यक्रमहरु लिएर आउन साउथ वेस्ट नेपाली कम्युनिटी तयार छ ।’






