सिड्नीमा आयोजना हुने हेरिटेज अफ फेसन नेपालमा मोडलको आवेदन खुला

तक्दीर अधिकारी
सिड्नी । फ्रेब्रुअरी १५ तारिखमा सिड्नीमा आयोजना हुने हेरिटेज अफ फेसन नेपालका लागि मोडलको आवेदन खुला गरिएको छ । एएसएपी इन्टरटेनमेन्टले आयोजना गर्ने उक्त फेसन सोका लागि अस्ट्रेलियामै मोडलको अडिसन लिइनेछ ।संस्थाका प्रबन्ध निर्देशक सन्तोष अधिकारीका अनुसार ¥याम्प वाल्कमा उतारिने मोडल अष्ट्रेलियामा नै अडिसनमार्फत् छनोट गरिनेछ । अडिसनको लागि आवेदन खुलिरहेको छ ।

फेसन सोमा नेपाल, भारत, चाइना, अष्ट्रेलियालगायतका मोडल छानिने छ । २५ देखि ३० जना मोडललाई ¥याम्प वाल्कमा उतारिनेछ । जसमा पुरुष मोडलको संख्या ५ जना मात्र हुनेछ । ‘बुद्ध वाज बर्न इन नेपाल’, ‘निर्माण कन्सट्रक्सन अफ हेरिटेज’, ‘नेपाल सौन्दर्य’ र ‘दरबार’ डिजाइनमा मोडल दर्शकमाँझ प्रस्तुत हुने निर्देशक अधिकारीको भनाइ छ ।

नेपाली संस्कृति विदेशमा जानकारी गराउन र भिजिट नेपाल २०२० लाई सहयोग गर्ने सिड्नीमा कार्यक्रम आयोजना गर्न लागेको निर्देशक अधिकारीले बताए । नेपालबाट गायक धिरज राई, मोडल प्रशान्त ताम्राकार सिड्नी पुग्ने छन् भने दुई जना डिजाइनर र अन्य केही सेलिब्रेटीसमेत फेसनसोमा सहभागी हुने अधिकारीले बताए ।

यसका साथै एएसएपी इन्टरटेनमेन्ट एसोसियट रहेको तथा सन्तोष अधिकारी सहनिर्माता रहेको नेपाली चलचित्र ‘आमा’ को प्रदर्शनसमेत अष्ट्रेलियामा गर्ने तयारी गरेको बुझिएको छ ।

आउँदो फागुन ९ गते शिवरात्रीको दिनबाट नेपालमा रिलिज हुन लागेको ‘आमा’ चलचित्र अष्ट्रेलियामा समेत प्रदर्शन गर्ने तयारी भइरहेको सहनिर्माता अधिकारीले बताए । ‘आमा’ चलचित्रको ट्रेलर पौष ३ गते रिलिज गरियो । दिपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रमा नायिका सुरक्षा पन्त मुख्य भुमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *