रुकुममा जोगिएन एमालेको इज्जत, बाँकी जिल्लाको यस्तो छ नतिजा

काठमाडौं– दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले हालसम्म १३३ स्थानीय तह जित्दै शीर्ष स्थानमा रहेको छ । बुधबार मध्यान्हसम्म ३३४ मध्ये ३०५ स्थानीय तहको नतिजा आउदा रुकुम जिल्लामा मात्रै नेकपा एमाले निल भएको छ । यस्तै १ नम्बर प्रदेशमा पर्ने सुनसरीमा एमालेले अहिलेसम्म खाता खोल्न नसकेपनि धरान र इटहरी उपमहानगरपालिकामा अग्रता रहेको छ । यसबाहेक माओवादीको आधार इलाकाको रुपमा चिनिएको रोल्पामा समेत एमालेले दुई स्थानीय तह जित्न सफल भएको छ ।

प्रदेश नम्बर एकमा पार्ने झापामा एमालेले हालसम्म २ स्थानीय तह जितेको छ । १५ स्थानीय तहमध्ये ८ तहको नतिजा आइसक्दा एमाले दुई स्थानमा विजयी भएको हो । नतिजा आएकामध्येका बाँकी ३ मा राप्रपा र तीन तहमा कांग्रेस विजयी भएको हो । झापा एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला पनि हो ।

यता इलाममा एमालेले ७ तह जितेको छ भने कांग्रेसले दुई तह जितेको छ । जहाँ माओवादी केन्द्र भने निल भएको छ । पाँचथरमा ४ तह जित्दा ताप्लेजुङमा पाँच तह जितेको छ । मोरङका ४ स्थानीय तहको नतिजा आउन बाँकी रहँदा एमालेले ४ तह जितेको छ । यता धनकुटाका सातै तहमा एमालेले क्लिन स्विप गरेको छ । तेह्रथुपका ६ तहमध्ये ५ तहमा
जित दर्ता गर्दा संखुवासभामा पनि ५ तह जितेको छ । संखुवासभामा कांग्रेसले समेत ५ तह जित्दा माओवादीले भने एक सिट पनि जित्न सकेन ।
यस्तै भोजपुरमा ४, उदयपुरमा ४, खोटाङमा ५ र ओखलढुंगामा ३ स्थानीय तह जित्दा सोलुखुम्बुमा ४ तह जितेको छ ।

यस्तै पाँच नम्बर प्रदेशमा एमाले रुकुममा निल भयो । पहिलो र दोस्रो चरण गरी निर्वाचन भएका रुकुमका सबै स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको छ।
५ नम्बर प्रदेशकै कपिलबस्तुमा एमाले २ तहमा खुम्चिनु परेको छ । दोस्रो चरणको निर्वाचनमा नवलपरासीमा एमाले दुई तहमा विजयी भयो । पहिलो चरणमा पनि एमाले नवलपरासीमा दुई तहमै विजयी भएको थियो ।

रुपन्देहीमा बुटवल उपमहानगरपालिकासहित ४ तहको नतिजा आउँन बाँकी रहेको अवस्थामा एमाले ५ तहमा विजयी भएको छ । बुटवलमा एमाले जितउन्मुख रहेको छ ।
पाल्पामा एमालेले ६ तह जित्यो भने कांग्रेसले ४ तह जित्दा माओवादी निल बन्यो । यता अर्घाखाँचीमा एमालेको प्रभाव देखिएन त्यहाँ एक तह मात्रै जित्यो । गुल्मीमा सात तह जित्दा प्युठानमा तीन, रोल्पामा २, बर्दियामा ३ तह जित्यो । यता दाङमा १ तहको नतिजा आउन बाँकी रहँदा ५ तहमा एमाले विजयी भएको छ । बाँकेमा भने तीन तहमा एमाले विजयी भएको छ । जहाँ एक तहको नतिजा आउँन बाँकी रहेको छ ।

७ नम्बर प्रदेशको कैलालीमा एक तहको नतिजा आउँदा एमाले ७ तहमा विजयी भएको छ । सात नम्बर प्रदेशकै अछाममा तीन, बाजुरामा पनि तीन बझाङमा ८, डोटीमा ५, दार्चुलामा तीन बैतडीमा पनि तीन र ढडेल्धुरामा दुई तह जित्न सफल भयो एमाले । यता कञ्चनपुरको चार तहको नतिजा आउन बाँकी रहँदा एमाले दुई तहमा विजयी भइसकेको छ ।