सिड्नीमा नेपथ्यको लाइभ बेण्ड हेर्न उत्रियो जनसागर

तक्दीर अधिकारी/अनु लामा
सिड्नी । सांगीतिक ब्याण्ड ‘नेपथ्य’ले अस्ट्रेलियाको सिड्नीमा आयोजित कन्सर्टमा धमका मच्चियो । कार्यक्रममा यसपटक कीर्तिमानी दर्शकको उपस्थिति थियो । नेपाली ब्याण्डले विदेशी भूमिमा आयोजना गरेको कन्सर्टमा पहिलो पटक सबै टिकट अनलाइनबाटै बिक्री भएको नेपथ्यको व्यवस्थापक ‘नेपालय’ले दाबी गरेको छ । कन्सर्टमा सहभागीले सबै टिकट अनलाइनबाटै खरिद गरेको र सांगीति प्रस्तुती शुरु हुनुअगावै सबै टिकट बिक्री भएको थियो ।

हिजो शनिबार नेपथ्यले २९ सय ५० दर्शक क्षमताको लुनापार्कस्थित ‘बिगटप अडिटोरियम’ हलमा सांगीतिक प्रस्तुती दिएको थियो । नेपाली मनोरञ्जन उद्योगमा पनि नेपथ्यले अनलाइन टिकट बिक्रीको पूर्ण कार्यान्वयन सुरुवात गर्न खोजिरहेको थियो । नेपथ्यले अस्ट्रेलियामा छैठौं पटक कन्सर्ट गरेको हो । सन् २००९ मा पहिलोपटक अस्ट्रेलिया पुगेको यो लोकपप ब्याण्ड अहिले विश्वभर रहेका नेपाली डायस्पोरामाँझ निकै लोकप्रिय छ ।

नेपथ्यको आफू पहिलेदेखि नै फ्यान भएको एनआरएनए अस्ट्रेलियाका पूर्वप्रवक्ता डिला खरेल बताए । पहिलेभन्दा पनि यस पटकको सो एकदमै रमाइलो भएको प्रतिक्रिया दिए । एनआरएनए अस्ट्रेलियाका युवा संयोजक इर्साद अहमदले नेपाली कलाकार आएर पूर्ण क्षमतामा हल भरिएको पहिलो पटक भएको बताए । यस्तै एनआरएन एनएसडब्लुका सहसचिव तीर्थराज कार्कीले नेपथ्यको यो सो एकदमै रमाइलो भएको प्रतिक्रिया दिए । लामो लाइन बसेर हलभित्र प्रवेश गर्दा पनि खुशी लाग्यो, कार्यक्रमले एकदमै एक्साइटेट बनाएको इन्द्रिणी फङ्सन सेन्टरका सञ्चालक लक्ष्मण सापकोटाले बताए । यस्तै भीएफएमका संस्थापक महेश (म्याक्स बाबु) प्रसाईले नेपथ्यको यो सो निक्कै रमाइलो लागेको बताए । उनले लन्डन नेपाल न्यूज डट कमका संवाददाता अनु लामासँग भने, ‘नेपथ्यको यो कार्यक्रमले लुनापार्क नेपालमय बन्यो ।’

 

गायक गुरुङले भने, ‘वर्षमा १२ महिना हुन्छ, एक महिनामा एक दिनको खाजा खर्च बचत गरेर गाउँघरका शिक्षाबाट बन्चित भएका बालबालिकामा खर्च गरे सके उनीहरुको भविष्य मात्र बन्दैन, तपाईं हामीजसरी शिक्षा र रोजगारका लागि विदेश भौतारिनु पर्दैन थियो । त्यो बच्चाको भविष्य मात्र बन्दैन, उसले देश बनाउँछ ।’ तपाईंको सहयोगले देश नै बन्छ भन्दा दर्शक भावविभोर बनेर शान्त बनेका थिए ।

गायक गुरुङले बेलाबेलामा देशप्रेमले ओतप्रोत अभिव्यक्ति दिइरहँदा यो सांगीतिक कार्यक्रम मात्र हो जस्तो लाग्दैन थियो । शनिबारको कन्सर्टमा पनि नेपथ्यले सिड्नीका दर्शकहरुलाई सँधैजस्तै लोकरकका भाकाहरुले तरंगीत पार्न सफल भएको थियो । ब्याण्डको उपस्थितिलाई अझ भब्य बनाउन सदाबहार र नयाँ गीतहरुको सन्तुलित चयन मात्र नभइ प्राविधिक हिसाबले पनि अझ स्तरिय प्रस्तुतीको प्रयास गरिएको थियो ।

कन्सर्टमा गीत संगीतसँगै समानान्तर रुपमा नेपालका हिमाल, पहाड र तराइका दृश्यहरुले पनि यात्रा गरेका थिए । पर्दामा प्रस्तुत स्वदेशका ती तस्बिरहरुले गुञ्जँदै गरेका गीतहरुको भावभूमि देखाउँथ्यो । गायक अमृतले गीतको संकलनका क्रममा मुलुकभर यात्रा गर्दा खिचेका तस्वीरहरुको संकलनबाटै ती दृश्यहरु निकालिएका थिए ।

‘हाम्रो मुलुक धेरै सुन्दर छ,’ गाउँदा गाउँदै बीचमा अमृत भनिरहेका थिए, ‘अर्कोपटक स्वदेश फिर्दा सहरबाट निस्केर गाउँहरुको यात्रा गर्न नछुटाउनु होला । तपाइँका अष्ट्रेलियन साथीहरु छन् भने उनीहरुलाई पनि साथमा ल्याउन नभुल्नु होला ।’

नेपथ्यले यसपाला अष्ट्रेलियाको श्रृंखलावद्ध यात्राका लागि सिड्नीकै संस्था ‘नेपाली टच’ सँग सहकार्य गरेको छ । ‘यो वर्ष नेपथ्यलाई हामीले निम्त्याउन पाउँदा असाध्यै गौरव महशुस भएको छ,’ संस्थाका तर्फबाट यस श्रृंखलाका संयोजक दिपेश पुन भन्छन्, ‘सिड्नी बाहेकका सहरहरुको आयोजनामा सघाउने सम्पूर्ण स्थानीय आयोजकहरुलाई म धन्यवाद पनि दिन चाहन्छु ।’

नेपथ्यको पछिल्लो कन्सर्टमा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए । सिड्नीको कन्सर्ट सम्पन्न भएसँगै यस वर्षको नेपथ्य अष्ट्रेलिया श्रृंखलाको अन्त्य अब मेलबर्नको ‘द पाम्स एट क्राउन’मा पुगेर हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *