शिब भण्डारी
लण्डन । मगर संघ युकेले एक करोड रुपियाँको छात्रवृत्ति कोष स्थापनाको लक्ष्य राखेर एक च्यारिटी डिनर सम्पन्न गरेको छ । मगर संघ युकेले गत शनिबार २३ नोवेम्बरअल्डरसट स्थित एक भव्य च्यारिटी डिनर आयोजना गरी एक करोडको अक्षयकोष पूरा गरेको हो।
नेपालमा रहेका गरिब तथा जेहेन्दार मगर विद्यार्थीहरूका लागि स्नान्तकोत्तर तथा विद्यावारिधिका लागि एक करोडको अक्षयकोष स्थापनाका लागि मगर संघ युकेले २०१५ सालदेखि च्यारिटी सुरु गरेको हो । अक्षयकोषका आयोजक एवम् मगर संघ युकेका पूर्व अध्यक्ष चिम्खोले काइँलाले सोही एक करोडको अक्षयकोष पूरा भएकोे बताएका छन् ।
मगर संघ युकेका अध्यक्ष सुनिल रानाको अध्यक्षता सम्पन्न च्यारिटी डिनर कार्यक्रमका प्रमुख अतिथि विश्व कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जामगर ’निम्स‘ थिए भने विशेष अतिथिहरूमा,ब्रिटिश आर्मीका उच्च पदमा पुग्न सफल हुनुभएका लेफ्टिनेन्ट कर्नेल याम राना, खेँबो निमासिँगे रामजालीमगर, डा. निरज थापा र डा. बल थापा, एनआरएनए युके उपाध्यक्ष प्रेम गाहा मगर थिए ।
समाजका महासचिब रुद्र थापाले सञ्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमका संयोजक एवम् उपाध्यक्ष छविमाया पुनले दिइएकी थिइन् । मगर स्नातकोत्तर तथा विद्यावारिधि अक्षयकोष स्थापना गर्नुको मुख्य उद्देश्यबारे अक्षयकोषका आयोजक चिम्खोले काइँला र मगर संघ युकेका सल्लाहकार रमेश साराङकोटी मगरले प्रकाश पारेका थिए । यस समारोहमा नेपालबाट आएका लोकप्रिय गायक प्रसाद खाप्तरीमगर र गायिका खिमा रोकामगरको बेजोड प्रस्तुति रहेको थियो । 
यस अवसरमा बेलायतमा भएका मगर युथहरूले मगर युथ ट्यालेन्ट प्रतियोगिता र फेशन शो गरेका थिए । मगर युथ गोट ट्यालेन्टमा सोम राना, दिया पुन र निकिता बुराले जज गरेका थिए भने केन्ट शाखाका जोडी रिया थापा र इसमे थापा पहिलो, स्विन्डन शाखाका ललित थापा दोस्रो एवम् युएचएसबी शाखाका रामुना पुन तेस्रो भएका थिए । मगर गोट ट्यालेन्टको संयोजक किशोर रानाले गरेका थिए भने यमुना आले, दिपक थापा मैथाने मगर, दिनेश रोका र जानकी रोकाले उद्घोषण गरेका थिए । 
कार्यक्रममा हिमाल आरोहणमा इतिहास रचेका निर्मल पुर्जा मगरलाई गुल्मेली नौमती बाजा बजाएर सम्मान गरिएको थियो। प्रमुख अतिथिको हैसियतमा बोल्दै पुर्जाले समाजले बेलायतमा बसेर पनि जन्मेको ठाउँ र हुर्केको गाउँको माया मोहमा महत्वपुर्ण योगदान गरेकोमा खुसी ब्यक्त गरे।






