काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा आइतबार बस पल्टिँदा मृत्यु हुने १७ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुने अधिकांश दोलखा शैलुङका रहेका छन् । मृत्यु हुने १७ जनामा ६ बालक, ३ बालिका, ७ महिला र १ पुरुष रहेका छन् ।
दुर्घटनामा दोलखा शैलुङ ४ की सलिना तामाङ, दियुन लामा शैलुङ ३ का शिशन तामाङ, चमेली श्रेष्ठ, निर्मला खड्का र निकेश खड्काको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा शैलुङ ५ का चेतबहादुर बस्नेत, शैलुङ ५ का किरण राउत, रत्नकुमारी राउत, रिकेश खड्का, कविता राउत र शैलुङ २ की उरमाया मोक्तान र सानु राउत आलेको पनि मृत्यु भएको छ ।
साथै भिमेश्वर ९ कि रन्जिता केसी बस्नेत, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी ४ की सायरानी श्रेष्ठ, काभे्र रोशि कि सजिना तामाङ, चितवन पटीहानीकी पूजा बस्नेतको पनि दुर्घटनामा मृत्यु भएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये २१ जनाको काठमाडौ र काभ्रेका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । २९ जना सामान्य घाइते उपचारपछि घर फर्केका छन् । केही शवहरु खोलाले बगाएको आशंकाका प्रहरीले खोजी जारी राखेको छ ।
दोलखाबाट काठमाडौं आउदै गरेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोसी नदीमा खसेको हो । तीव्र गति र क्षमता भन्दा बढी यात्रु बोकका कारण बस दुर्घटना भएको अनुमान गरिएको छ ।






