काठमाडौं, १९ असार । नेपाली काँग्रेस संसदीय दलको आजको बैठकमा सभासद्ले सङ्घीयताको सीमाङ्कन टुङ्गो लगाएर मात्र संविधानसभाको विघटन गर्न सुझाव दिनुभएको छ । संविधानसभामा प्रस्तुत ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदाका सम्बन्धमा भएको बैठकमा सभासद्ले सकेसम्म सीमाङ्कनको विषय छिट्टै टुङ्गो लगाउन र नामाङ्कनको काम प्रदेशसभाले टुङ्गो लगाउनु उचित हुनेमा जोड दिनुभयोे ।
मस्यौदामा सीमाङ्कनबारे संविधान जारी भएपछि विज्ञसहितको कार्यदलले छ महिनाभित्र टुङ्गो लगाउने उल्लेख छ । सो दलका मुख्य सचेतक चीनकाजी श्रेष्ठले मस्यौदाबारे सभासद्ले आन्तरिक छलफलमा भाग लिँदै टीकाटिप्पणी गर्ने क्रम जारी रहेको जानकारी दिनुभयो । उहाँले मस्यौदा राय सुझावका लागि जनतामा पठाई एक साताभित्र सुझाव लिएर त्यसलाई एकीकृत बनाउने काम हुने बताउनुभयो ।
जनतामा जान बाँकी रहेको मस्यौदामाथिको छलफल राखी अवरोध गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सभासद्ले विचार राख्न पाउने अधिकारमा बाधा पु-याएको बताउँदै उहाँले भन्नुभयो – “संविधान कुनै एक पार्टीको दस्तावेज होइन, यो सबैको हो, ९० प्रतिशत सभासद्ले मानिसकेको विषयलाई रोक्न खोज्नु हुँदैन ।” सभासद् रामहरि खतिवडाले मस्यौदामाथि विस्तृत छलफल भएको जानकारी दिनुभयो ।
संविधानसभा भवन नयाँ बानेश्वरमा भएको बैठकमा संविधान बनाउने विषयमा संविधानसभा सार्वभौम भएकाले सर्वाेच्च अदालतको आदेश वा अन्य कुनै पक्षबाट प्रभावित हुन नहुने विचार पार्टीका उपसभापति रामचन्द्र पौडेलले राख्नुभएको थियो । बैठकमा प्रधानमन्त्री तथा दलका नेता सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौलाको पनि उपस्थिति थियो । बैठक आइतबार बिहान ८ बजे पुनः बस्नेछ ।
संविधानसभा विघटन गर्न सुझाव






