बागलुङ- नेकपा (एमाले)का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले साना दलहरुसँगको वचन पूरा गर्दा मन्त्रीमण्डल ठूलो भएको बताउनुभएको छ ।
प्रेस चौतारी, बागलुङ शाखाले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले मन्त्रीमण्डल विस्तार परिस्थितिको उपज भएको बताउनुभयो ।
“प्रधानमन्त्रीको चुनावअघि नै दलहरुलाई दिइएको वचन पूरा गर्दा अहिले मन्त्रीमण्डल ठूलो भएको हो, सङ्क्रमणकालीन परिस्थितिका कारण यस्तो अवस्था आयो”– नेता न्यौपानेले भन्नुभयो । उहाँले प्रधानमन्त्रीलगायत सत्तापक्षको नेतृत्वले सुरुमै साना दलहरुलाई सरकारमा ल्याउने वचन दिएको उल्लेख गर्नुभयो । संविधानको सङ्क्रमणकालीन व्यवस्थाअनुसार अहिलेको मन्त्रीमण्डल विस्तार गरिएको उहाँको तर्क छ ।
भारतले गरेको अघोषित नाकाबन्दी छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्दै उहाँले भारत पछि हट्दै गएको उल्लेख गर्नुभयो । संसद्को प्रक्रियामा गएको संविधान संशोधनले मधेस आन्दोलनको मागलाई पूरा गर्ने उहाँको भनाइ छ ।






