काठमाडौँ, १६ चैत । एकीकृत (नेकपा)माओवादीका अध्यक्ष पुष्पकमल दाहालले त्रिवि शिक्षण अस्पतालमा आमरण अनशनमा रहनुभएका चिकित्सक डा गोविन्द केसीलाई आज भेटी ऐक्यबद्धता जनाउनुभएको छ । चिकित्सा शिक्षा क्षेत्रलाई विकृतिमुक्त बनाउने अभियानका साथ विगत नौ दिनदेखि आमरण अनशनमा रहनुभएका डा केसीका मागप्रति समर्थन जनाउँदै अध्यक्ष दाहालले डा केसीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग जानकारी दिनुभएको थियो ।
भेटपछि सञ्चारकर्मीसँग अध्यक्ष दाहालले डा केसीको माग जायज भएकाले सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो । डा केसीको आन्दोलनका बारेमा आफूले तत्कालै प्रधानमन्त्रीलाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गर्ने उल्लेख गर्नु भयो । अध्यक्ष दाहालले डा केसीको आन्दोलन भ्रष्ट्राचारमुक्त समाज निर्माण गर्ने अभियान पनि भएकाले यसलाई आफ्नो पार्टीको समर्थन रहने बताउनुभयो । उहाँले समस्याको गाम्भीर्यतालाई ध्यान दिएर सरकारले चाँडोभन्दा चाँडो समाधान नगरे यसले जटिल परिस्थिति निम्तनसक्ने खतरा औँल्याउनुभयो ।
डा केसीको अनशनप्रति एमाओवादीको ऐक्यबद्धता






